हेटौंडाः हेटौंडा –१६ स्थित शहरी स्वास्थ्य केन्द्रमा आईतबार सञ्चालन भएको निशुल्क स्वास्थ्य सिविरमा ११८ जनाले सेवा लिएका छन् । हेटौंडा उपमहानगरपालिका जनस्वास्थ्य प्रवद्र्धन शाखाको आयोजनामा महिलाहरुको लागि निशुल्क पाठेघर क्यान्सर, स्तन क्यान्सर, प्रजनन् फिस्टुलाको जाँच उपचार र परामर्श साथै परिवार नियोजनको स्थायी साधन राख्ने र झिक्नको लागि शिविर सञ्चालन गरिएको हेटौंडा उपमहानगरपालिका जनस्वास्थ्य प्रवद्र्धन शाखाका अनमि आस्मा बानियाँले जानकारी दिनु भएको छ ।
१ सय १८ जनाको परीक्षणमा १ सय १३ जनाले पाठेघर क्यान्सर, स्तन क्यान्सर र प्रजनन् फिस्टुलाको जाँच गराएको थियो । १ जनाले परिवार नियोजनको स्थायी साधन आइयुसिडी लगाएको थियो र ३ जनाले ईमप्ल्यान्ट लगाएको थियो भने १ जनाले ईमप्ल्यान्ट झिकेको बताईएको छ । यस्तै स्वास्थ्य जाँच गराउन आउनेहरुमा धेरै जनाले पाठेघर क्यान्सर, स्तन क्यान्सर र प्रजनन् फिस्टुलाको जाँच गराएको नर्सिङ निरीक्षक मुना थापाले जानकारी दिनुभयो । शरीरको भित्री अंगमा अनावश्यक प्वाल पर्नु र महिलाहरुमा बच्चा पाउँदाको जटिलता वा यौन हिंसाका कारण प्रजनन् फिस्टुला महिलाहरुमा हुने गरेको बताउनुभयो । लामो व्यथामा महिलाहरुको योनी र पिसाब थैली वा मलाशयका कोशिकाहरु बच्चाको दबावले थिचिएर रक्तसञ्चार अवरुद्ध भई मर्ने गर्छन्, तिनमा प्वाल परी त्यसबाट पिसाब दिशा अनियन्त्रित रुपमा बाहिर निस्कने खालका समस्या नै महिलामा हुने प्रजनन् फिस्टुला रोग रहेको उहाँले जानकारी दिनुभयो । यस्ता समस्याबाट बच्न र बचाउन शिविरमा सहभागी महिलाहरुलाई परामर्श पनि दिईएको छ ।
उँहाका अनुसार महिलाहरुमा स्तन क्यान्सर पनि व्यापक रुपमा देखिएको छ । उहाँले स्तन क्यान्सर महिलामा हुने डर लाग्दो रोग रहेको दावी गर्नुभयो । महिलाहरुको स्तन क्यान्सरको लक्षणहरुमा स्तनमा गाँठो, गिर्खा आउनु अथवा आकार परिवर्तन हुनु, स्तनको टुप्पोमा असाधारण परिवर्तन, छाला खुइृलिनु अथवा रङ परिवर्तन हुनु रहेका छन् । यस्ता समस्या नदेखियोस भनेर स्वास्थ्य शिविरलाई नियमित रुपमा सञ्चालन गर्दे आएको अनमी नर्सिङ निरीक्षक मुना थापाले जानकारी दिनुभयो ।











