हेटौंडा–२ स्थित खोप केन्द्रमा कोभिड–१९ विरुद्धको खोप लगाइदिँदै स्वास्थ्यकर्मी ।

हेटौंडाः मकवानपुर जिल्लामा ३ लाख २२ हजारभन्दा बढीले कोभिड–१९ को पूर्ण खोप लगाएका छन् । शुक्रबारसम्म जिल्लाका विभिन्न स्थानबाट ३ लाख २२ हजार ५ सय ३ जनाले पूर्ण खोप लगाएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

यस्तै, जिल्लामा ३ लाख ३६ हजार ८ सय ५६ जनाले कोरोनाको पहिलो मात्रा भ्याक्सीन लगाएका छन् । विश्वमा कोरोना संक्रमणको चौथो लहर बढ्न थालेसँगै मकवानपुर जिल्लामा भने कोभिडको खोप लगाउनेको संख्या बढ्दो रहेको कार्यालयको तथ्याङ्कले देखाउँछ । जिल्लामा बिगत केही महिनादेखि कोरोना संक्रमणको संख्या एकदमै न्यून मात्र देखिएको छ । पछिल्लो २४ घण्टामा पिसीआर परिक्षणमा ८ जना र एन्टिजेन परिक्षणमा एक जना गरी ९ जनाको परिक्षणमा एक जनामा मात्र कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कले देखाउँछ । हाल मकवानपुरमा २ जना होम आईसोलेसनमा उपचाररत रहेको हेटौंडा अस्पतालका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले जानकारी दिनुभयो । यस्तै, मकवानपुरमा हाल सम्म १७ हजार ८ सय ५० जना कोरोना भाईरसबाट संक्रमित भएका थिए । जिल्लामा हालसम्म कोरोना भाईरसका कारण १ सय ७८ जनाको मृत्यू भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

बिहीबार दिउँसो स्वास्थ्य मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै देशमा कोरोनाभाइरस संक्रमण केही कम भएको जस्तो देखिए पनि जोखिम कायम नै रहेको उल्लेख गरेको छ । नेपालमा आईसीयू र भेन्टिलेटरमा एकजना पनि कोभिड बिरामी नरहेको उल्लेख छ । अझ देशभरिमा जम्मा २ सय ९८ जना मात्रै सक्रिय सङ्क्रमित मध्ये तीन जना मात्रै स्वास्थ्य संस्थामा रहेको देखिन्छ । विश्व स्वास्थ्य सङ्गठनले समेत न्यूनदर भए तापनि ढुक्क हुन नहुने भनेको सन्दर्भमा मन्त्रालयले सचेत हुन सबैलाई अनुरोध गरेको छ । छिमेकी देश भारतमा दैनिक कोरोना संक्रमणको बिरामीको संख्या बढ्दै गएकोले नेपालमा पनि सचेत हुन मन्त्रालयले सबैलाई अनुरोध गरेको हो ।