फाइल तस्वीर ।

हेटौंडाः मकवानपुरको दुर्गम क्षेत्र कैलाश गाउँपालिका र राक्सिराङ गाउँपालिकाका विद्यार्थी विद्यालय शिक्षा परीक्षा (एसईई) मा सहभागी हुन पालिका भन्दा बाहिरको विद्यालयमा निर्धारण गरिएको परीक्षा केन्द्र धाउन बाध्य छन् । विद्यार्थी संख्या, सुरक्षा चुनौति, पूर्वाधारको अभावका कारण कैलाश र राक्सिराङ गाउँपालिकामा परीक्षा केन्द्र निर्धारण गर्न नसकिएको शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका प्रमुख दिनानाथ गौतमको भनाइ छ । बैशाख ९ गतेदेखि सुरु हुने एसईईका लागि मकवानपुर जिल्लामा २४ वटा परीक्षा केन्द्र कायम गरिएको छ । मकवानपुरका १० पालिकामध्ये एसईईको केन्द्र नहुने कैलाश र राक्सिराङ गाउँपालिका मात्रै हो ।

विद्यार्थीलाई असहज भएको भन्दै पालिकाभित्रै परीक्षा केन्द्र निर्धारण गर्न शिक्षा विकास तथा समन्वय इकाईमा पहल गरे पनि सुनुवाई नभएको कैलाश गाउँपालिका–३, कालिकाटारस्थित भवानी मावि व्यवस्थापन समितिका अध्यक्ष सुन्दर राना मगरको भनाइ छ । परीक्षा केन्द्र पालिकाभन्दा बाहिर हुँदा विद्यार्थीलाई परीक्षामा सहभागी गराउन असहज हुने, कतिपय विद्यार्थी परीक्षामै सहभागी हुन समेत नपाउने अवस्था समेत रहने गरेको उहाँको भनाइ छ । परीक्षामा सहभागी हुन व्यहोर्नुपर्ने झण्झटकै कारण कतिपय विद्यार्थीले मावि तहमा आएर पढाइ नै छाड्ने समस्या रहेको पनि मगरले दावी गर्नुभयो ।

कैलाश गाउँपालिकाका विद्यार्थीहरु एसईईमा सहभागी हुन पालिका बाहिर ३ वटा पालिकामा धाउन बाध्य छन् । एसईईमा सहभागी हुन कैलाश गाउँपालिकाका विद्यार्थी हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका र मनहरी गाउँपालिकास्थित परीक्षा केन्द्रमा धाउन बाध्य छन् । घर नजिकैको विद्यालयमा नियमित पठनपाठन पूरा गरे पनि परीक्षाका लागि भने घरदेखि टाढा अर्कै पालिकामा जानुपर्ने विद्यार्थीको बाध्यता छ । कैलाश गाउँपालिकाको ६ वटा माध्यमिक तहको विद्यालयबाट यस बर्षको एसईईमा सहभागी हुन २ सय २७ जना विद्यार्थीले परीक्षा फारम भरेका छन् । परीक्षा केन्द्र टाढा भएसँगै परीक्षामा सहभागी हुनकै लागि विद्यार्थीहरु होटलमा बस्न या आफन्तकोमा शरण लिन शरण लिन बाध्य छन् ।

यस बर्षको एसईईमा कैलाश गाउँपालिका–६, पकनीस्थित व्यास माविका ४९ जना विद्यार्थी, कैलाश गाउँपालिका–२, छ्याङ्दुङस्थित कमलादेवी माविका ३१ जना विद्यार्थी थाहा नगरपालिकास्थित जनकल्याण माविमा परीक्षा दिन जाँदैछन् । कैलाश गाउँपालिका–९, नामटारस्थित कालिका माविका ६६ जना विद्यार्थी हेटौंडा–४ स्थित आधुनिक राष्ट्रिय माविमा परीक्षा दिन जानुपर्नेछ । यस्तै कैलाश गाउँपालिका–८, भार्तास्थित धुवाङ माविका १४ जना विद्यार्थी, कैलाश गाउँपालिका–१०, मर्‍याङकोटस्थित रत्नज्योति माविका २९ जना विद्यार्थी र कैलाश गाउँपालिका–३, कालिकाटारस्थित भवानी माविका ३४ जना विद्यार्थी मनहरी गाउँपालिकास्थित राष्ट्रिय रोटरी माविमा परीक्षा दिन जान बाध्य छन् ।

यस्तै राक्सिराङ गाउँपालिकाका ४ विद्यालयबाट २ सय ५४ जना विद्यार्थी यो बर्षको एसईईमा सहभागी हुँदैछन् । राक्सिराङ गाउँपालिकाका ४ वटै विद्यालयको परीक्षा केन्द्र मनहरी गाउँपालिकास्थित दुईवटा विद्यालयमा तोकिएको छ । राक्सिराङ गाउँपालिका–४, सिलिङ्गेस्थित राष्ट्रिय माविबाट ९० जना विद्यार्थी र राक्सिराङ गाउँपालिका–३, सरिखेतस्थित सूर्योदय माविबाट ११३ जना विद्यार्थीको परीक्षा केन्द्र मनहरीको राष्ट्रिय रोटरी माविमा कायम गरिएको छ । यस्तै राक्सिराङ गाउँपालिका–४ स्थित कालिका माविबाट १२ जना विद्यार्थी र कालिका मावि खैराङका ३९ जना विद्यार्थीको परीक्षा केन्द्र मनहरीको महेन्द्र किरण माविमा तोकिएको छ ।