हेटौंडाः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले संघीयता खारेज नगरे मुलुक जुनसुकै बेला श्रीलंकाको जस्तो आर्थिक संकटमा पर्ने बताउनुभएको छ । हेटौंडामा आज भएको आम सभालाई सम्बोधन गर्नुहुँदै लिङ्देनले संघीयताको नाममा यत्ति धेरै जनप्रतिनिधि, तिनका कर्मचारी, सेवा, सुविधामा हुने खर्च र विकासमा देखिएको निराशाजनक अवस्थाले मुलुक आर्थिक रूपमा संकटमा रहेकोले श्रीलंका बन्ने जोखिम रहेको उहाँको भनाइ थियो ।
मुलुक यत्तिको जोखिममा हुँदा पनि जिम्मेवार भएर काम नगर्ने प्रमुख राजनीतिक दलबाट संघीयता बिरुद्ध जनता नै आन्दोलित हुने दाबी लिङदेनको छ । मुलुकको सुधारका लागि जनताले मतदानका बेला ध्यान दिनु पर्ने उल्लेख गर्नुहुँदै स्थानीय तहको निर्वाचनमा विकासका दृष्टिले कमजोर पालिकामा जिताएर काम गर्ने अवसर दिन आग्रह गर्नुभयो । पालिकामा राप्रपाका उम्मेदवारले जिते तालिम केन्द्रको स्थापना गर्ने, रोजगारीको अवसर सिर्जना गर्ने, गुणस्तरीय र निशुल्क शिक्षा र स्वास्थ्य सेवा सुनिश्चित गर्ने उहाँको दाबी छ ।