हेटौंडाः जनप्रिय प्राविधिक शिक्षालय हेटौंडा–१६ मा अध्ययनरत अजिता ओझा उत्कृष्ट मुक्तककार घोषित हुनुभएको छ । मावि तहमा अध्ययनरत विद्यार्थीबीच आयोजित मुक्तक प्रतियोगितामा सहभागी भई उत्कृष्ट घोषित हुनुभएकी अजितालाई २ हजार ५ सय रुपैयाँ नगदसहित शिव–सावित्री अधिकारी स्मृति नवप्रतिभा मुक्तक पुरस्कार–२०७८ बाट सम्मान गरिएको छ ।
झरना साहित्यिक परिवारको आयोजनामा भएको प्रतियोगितामा १९ जनाको सहभागिता रहेको थियो । सहभागी मध्ये उत्कृष्ट १० मुक्तक छनोट गरी झरनाले शनिबार प्रस्तुतीको अवसर दिएको थियो । उत्कृष्ट १० मध्ये केही प्रतियोगी प्रस्तुतीको चरणमा सहभागी भएनन् । झरना साहित्यिक परिवारका संस्थापक अध्यक्ष रमेशमोहन अधिकारीले आफ्नो आमा र बुबाको स्मृतिमा पुरस्कार स्थापना गर्नुभएको हो ।
यसैबीच २७६ औं नियमित साहित्य शृङ्खला तथा २८औँ मुक्तक साँझ–२०७८ को अवसरमा मकवानपुरका ३ जना मुक्तककार तथा मकवानपुरभन्दा बाहिरका ३ जना अतिथि मुक्तककारको मुक्तक प्रस्तुतीको कार्यक्रम पनि रहेको थियो । मुक्तक साँझमा मकवानपुर, काठमाडौं, सिन्धुली र नुवाकोटका ६ जना मुक्तककारहरुले १०/१० वटा मुक्तक वाचन गर्नुभयो । मुक्तक साँझमा मकवानपुरका डिबी बर्तौला, देवेन्द्र सञ्जेल र भवानी तिमल्सिना तथा सिन्धुलीका बिर्ख वाईबा, काठमाडौंकी निशा केसी र नुवाकोटकी सुशीला भट्टले १०/१० वटा मुक्तक वाचन गर्नुभएको थियो ।
झरना साहित्यिक परिवार मकवानपुरका अध्यक्ष दीपक गौतमको सभाध्यक्षता तथा मुक्तककार रमेश पौडेलको प्रमुख आतिथ्यमा नियमित साहित्य शृङ्खला तथा मुक्तक साँझ भएको हो ।