हेटौंडाः आसन्न स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेले मकवानपुरको भीमफेदी गाउँपालिकाबाट अध्यक्षमा हिदम लामा र उपाध्यक्षमा पार्वती राना नै सर्वसम्मत उम्मेद्वार सिफारिस भएको छ । शनिबार सम्पन्न नेकपा एमाले भीमफेदी गाउँ कमिटीको बैठकले सर्वसम्मतरुपमा लामा र रानालाई अध्यक्ष र उपाध्यक्षको उम्मेद्वार सिफारिस गर्ने निर्णय गरेको हो ।
हिदम लामा र पार्वती राना २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा निर्वाचित अध्यक्ष र उपाध्यक्ष हुन् । नेकपा एमाले भीमफेदी गाउँ कमिटीका अध्यक्ष सानु थापाका अनुसार भीमफेदीका ९ वटा वडा मध्ये अधिकांशमा उम्मेद्वार बन्ने अध्यक्ष र सदस्यको नाम निश्चित भए पनि केही वडामा अझै टुंग्याउन बाँकी रहेको छ । भीमफेदी गाउँपालिकाको २ नम्बर वडामा काशिराम बज्यु, ३ नम्बर वडामा प्रकाश पौडेल, ५ नम्बर वडामा जाहारसिं लामा, ६ नम्बर वडामा सिताराम थापा र ८ नम्बर वडामा विष्णुबहादुर लामालाई वडा अध्यक्षको उम्मेद्वार सिफारिस गर्ने निश्चित भइसकेको नेकपा एमाले भीमफेदी गाउँ कमिटी अध्यक्ष सानु थापाले जानकारी दिनुभयो ।
काशिराम बज्यु, जाहारसिं लामा, सीताराम थापा २०७४ सालको निर्वाचनबाट निर्वाचित वडा अध्यक्ष हुन् भने प्रकाश पौडेल र विष्णुबहादुर लामा नयाँ अनुहार हुन् । १ नम्बर वडाबाट को उम्मेदवार हुने भन्ने निश्चित नभएको उल्लेख गर्नुहुँदै अध्यक्ष थापाले ४ नम्बर वडामा प्रकाश पाण्डे र सूर्यबहादुर भुजेल अध्यक्षका आकांक्षी देखिएको जानकारी दिनुभयो । यस्तै ७ नम्बर वडामा परमेश्वर राना र विदुर सिञ्जाली, ९ नम्बर वडामा राममणि पराजुली र प्रकाश पुडासैनी अध्यक्षका आकांक्षी छन् ।
चैत २९ गते जिल्ला कमिर्टी बैठक बस्नु अघि गाउँपालिकाको वडा अध्यक्ष र सदस्य सबैको नाम टुंगो लगाएर जिल्ला कमिटीमा सिफारिस गर्ने अध्यक्ष थापाको भनाइ छ ।