हेटौंडाः आसन्न स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेबाट हेटौंडा उपमहानगरपालिका ६ नम्बर वडाको अध्यक्षमा विश्वराज राई सर्वसम्मत सिफारिस हुनुभएको छ । बिहीबार पार्टीको वडा कमिटीले राईको नाम सर्वसम्मत सिफारिस गर्ने निर्णय गरेको हो ।
वडा सदस्यहरुको विषयमा भने अझै छलफल चलिरहेको बताइएको छ । नेकपा एमाले हेटौंडा उपमहानगरपालिका ६ नम्बर वडा कमिटीको अध्यक्ष समेत रहनुभएका राई नेकपा एमाले सम्बद्ध नेपाल राष्ट्रिय उद्योगी व्यवसायी महासंघको केन्द्रीय सदस्य हुनुहुन्छ भने जनवर्गीय संगठनतर्फ जनजाति महासंघको पनि केन्द्रीय सदस्य हुनुहुन्छ ।
२०७४ सालको निर्वाचनमा पराजित हुनुपरेको पार्टीलाई आगामी २०७९ साल बैशाख ३० गते हुने निर्वाचनमा विजयी गराउने आधारसहित आफ्नो उम्मेदवारी रहेको राईको भनाइ छ । पार्टीभित्र युवा पुस्ताको अग्रसरताप्रति आम मतदाताले विश्वास गर्ने र मतदाताको विश्वास लिएर वडाको समग्र विकासमा काम गर्ने राईको दावी छ ।