हेटौंडाः संघीय सरकारको गौरवको योजना काठमाडौं–तराई–मधेश द्रुतमार्गको बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले निरीक्षण गर्नुभएको छ । राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकपछि मुख्यमन्त्री पाण्डेले आयोजनाको कामको अनुगमन गर्नु भएको हो । अनुगमनमा बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री कृष्णप्रसाद शर्मा खनालको पनि सहभागिता रहेको थियो ।
द्रुतमार्ग अन्तर्गत लेनडाँडा क्षेत्रमा सुरुङ्ग निर्माणको तयारी तथा पुल निर्माणको तयारीबारे निरीक्षण गर्नुभयो । कामको गति सन्तोषजनक भइरहेको प्रतिक्रिया दिनुहुँदै आयोजना अन्तर्गत अन्य क्षेत्रमा कामको गतिमा तीव्रता प्रदान गर्न तोकिएको समय सीमा भित्र आयोजना सम्पन्न गर्ने गरी काम गर्न मुख्यमन्त्री पाण्डेले निर्देशन दिनुभएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।
नेपाली सेनाको २८ नम्बर बाहिनीपति सहायक रथी हिम्मत विष्ट र नेपाली सेना काठमाडौँ–तराई–मधेश द्रुतमार्ग आयोजनाको लेनडाँडा क्याम्पका प्रमुख मेजर राम सागर यादवले मुख्यमन्त्री पाण्डेलाई योजनाको समग्र कार्यप्रगतिको अवस्था बारेमा जानकारी गराउनु भएको थियो । सुरुङ्गमार्गको निर्माण पश्चात ७२ दशमलव ५ किलोमिटर लम्बाई रहने द्रुतमार्गको कामलाई समयमा नै सम्पन्न गरेर विकासमा नयाँ फड्को मारेको आभाष प्रदेशबासीलाई दिलाउन मुख्यमन्त्री पाण्डेले निर्देशन दिनुभयो ।
निरीक्षणका क्रममा मुख्यमन्त्री पाण्डेले आयोजना अन्तर्गत धेद्रे क्षेत्रमा निर्माणधानीन सुरुङ्ग गुणस्तर मापन प्रयोगशाला, रुख कटान गरिएका क्षेत्र लगायतको स्थलगत अवलोकन तथा फिल्डमा खटिएका प्राविधिक तथा मजदुरहरुसँग अन्तरक्रिया गर्नुभएको थियो । प्रस्तावित निजगढ विमानस्थल र द्रुतमार्ग एक आपसमा परिपूरक आयोजना भएकोले बागमती प्रदेश र मधेश प्रदेश बीचको सम्बन्धको सेतुको रुपमा अघि बढाउँदै यी दुबै आयोजनालाई नेपालको गेम चेञ्जर आयोजनाको रुपमा सम्पन्न गर्न आवश्यक रहेको कुरामा मुख्यमन्त्री पाण्डेले जोड दिनु भयो । आयोजना सम्पन्न गर्ने क्रममा आउने अवरोधहरुलाई समयमा नै निराकरण गर्न र सहजीकरण गर्न बागमती प्रदेश सरकार प्रतिवद्ध रहेको पनि मुख्यमन्त्रीले बताउनुभएको छ ।