हेटौंडाः आसन्न स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेले हेटौंडा–११ को वडा अध्यक्षमा तीनजनाको नाम सिफारिस गरेको छ । बुधबार बसेको वडा कमिटीको बैठकले वडा अध्यक्षमा जुना दाहाल, रामचन्द्र न्यौपाने र दीपक सिवाकोटीको नाम सिफारिस गरेको छ ।
वडा अध्यक्षका आकांक्षी ५ जना भएपछि निर्वाचनमार्फत ३ जनाको नाम सिफारिस गरिएको थियो । निर्वाचनबाट नेकपा एमाले हेटौंडा उपमहानगर कमिटीका अध्यक्ष शालिकराम पुडासैनी र अर्का आकांक्षी कृष्णप्रसाद उप्रेती पराजित हुनुभयो । यस्तै वडाबाट सदस्यमा खुलातर्फ अक्कल बहादुर रोक्का (तीर्थ) र सूर्यबहादुर खुलाल, महिला सदस्यमा गोपिनी सापकोटा र दलित महिला सदस्यमा गीता सुनारको नाम सिफारिस गर्ने निर्णय सर्वसम्मत भएको छ ।
वडा अध्यक्षका आकांक्षी दाहाल र न्यौपाने अहिले वहालवाला वडा सदस्य हुनुहुन्छ । यस्तै वडा सदस्यमा दलित महिलातर्फ गीता सुनार वहालवाला वडा सदस्य हुनुहुन्छ भने गोपिनी सापकोटा २०५४ सालको स्थानीय निर्वाचनमा वडा सदस्य निर्वाचित भई काम गर्नुभएको व्यक्ति हुनुहुन्छ ।
वडा अध्यक्ष र सदस्यको सिफारिस गर्ने क्रम जारी छ । बुधबार र बिहीबार दुईदिन पार्टी वडा कमिटीले अध्यक्ष र सदस्यहरुको नामावली पार्टीको पालिका कमिटीमार्फत जिल्ला कमिटीमा सिफारिस गर्नेछ ।