उपाधि विजेता केशवलाल श्रेष्ठ स्मृति प्रतिष्ठानको भलिबल टिम ।

हेटौंडाः केशवलाल श्रेष्ठ स्मृति प्रतिष्ठानले बारा जिल्लामा भएको पाँचौं नकआउट भलिबल प्रतियोगिताको उपाधि जितेको छ । बुधबार बारा जिल्लाको कोहल्वीमा सम्पन्न फाइनल खेलमा स्थानीय समाज सेवा युवा क्लबलाई ३–२ को सेटमा पराजित गर्दै उपाधि जितेको हो ।

बाराको कोहल्वीस्थित जनजागृति महिला तथा पुरुष उत्थान केन्द्रको आयोजना तथा कोहल्वी नगरपालिकाको आर्थिक सहयोगमा भएको भलिबल प्रतियोगिताको फाइनल खेल रोमान्चक रह्यो । पहिलो सेट १७–२५ ले गुमाएको प्रतिष्ठानले दोस्रो सेटमा प्रतिस्पर्धात्मक नजिता निकाल्ने क्रममा २८–२६ को अंक रह्यो । तेस्रो सेट २५–१९ ले जित्दै २–१ ले खेल आफ्नो पक्षमा पारे पनि चौथो सेट प्रतिस्पर्धात्मक २६–२८ ले हार्न पुग्यो । २–२ को बराबरीमा पुगेपछि अन्तिम सेट प्रतिष्ठानले १५–९ ले आफ्नो पक्षमा पार्दै उपाधि जित्न सफल भएको हो ।

उपाधिसँगै केशवलाल श्रेष्ठ स्मृति प्रतिष्ठानले एक लाख रुपैयाँ नगद हात पारेको छ भने दोस्रो हुने समाज सेवा युवा क्लबले ५० हजार रुपैयाँ प्राप्त गरेको छ । प्रतियोगितामा प्रतिष्ठानका अशोक श्रेष्ठ उत्कृष्ट खेलाडी, विवश आले उत्कृष्ट सेटर घोषित हुँदा समाज सेवा युवा क्लबका सुरेन्द्र गुराउ उत्कृष्ट स्पाइकर घोषित भए ।

प्रतियोगितामा ९ टिमको सहभागिता रहेको थियो । प्रतिष्ठानको टिम व्यवस्थापक कमल विडारी रहनुभएको थियो । फाइनल खेलमा टिमलाई हौसला प्रदान गर्न प्रतिष्ठानका उपाध्यक्ष राजन दाहाल खुसराज, महासचिव बसन्त सिटौला र कोषाध्यक्ष छवि सुवेदी पनि कोहल्वी पुग्नुभएको थियो ।