संचारिका समूह मकवानपुरको बैठक बस्दै पदाधिकारी ।

हेटौंडाः सञ्चारिका समूह मकवानपुरले महिला पत्रकारहरुलाई निर्वाचन लक्षित तालिम दिने निर्णय गरेको छ । शुक्रबार नेपाल पत्रकार महासंघ जिल्ला शाखा मकवानपुरको सभाहलमा बसेको बैठकले स्थानीय तहको निर्वाचनलाई लक्षित गरी तालिम आयोजना गर्ने निर्णय गरेको हो ।

महिला पत्रकारलाई निर्वाचन सम्बन्धी समाचार संकलनमा थप सहयोग पुग्ने उद्देश्यले तालिम आयोजना गर्न लागेको हो । यस्तै, सञ्चारिका समूहले मकवानपुरका महिला पत्रकारहरुको लागि मासिक रुपमा सेनेटरी प्याड वितरण गर्दै आएको छ । जिल्लामा क्रियाशिल रहेका महिला पत्रकारहरुले प्रत्येक महिना पत्रकार महासंघमा गएर प्याड लिन समेत अनुरोध गरिएको छ । बैठकमा महिला पत्रकारहरुलाई कसरी सक्रिय बनाउने भन्ने विषयमा समेत छलफल भएको छ ।

बैठकपश्चात् संचारिका समूहले नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमसँग पनि अनौपचारिक छलफल गरेको छ । जिल्लामा क्रियाशिल महिला पत्रकारको अवस्था, महासंघले महिला पत्रकारको लागि आवश्यक कार्यक्रम लगायतका विषयमा छलफल भएको छ । यस्तै, संचारिका समूह पनि पत्रकार महासंघकै सानो हिस्सा भएकोले संचारिकालाई पनि सँगसँगै लैजान अध्यक्ष गौतमलाई अनुरोध गरिएको छ । महिला पत्रकारहरुको अनुरोध स्वीकार्दै अध्यक्ष गौतमले संचारिका समूहसँग सहकार्य गरेर कार्यक्रम ल्याउने आश्वासन दिनुभएको छ । संचारिका समूह मकवानपुरकी अध्यक्ष सम्झना रिजालको अध्यक्षतामा बैठक बसेको थियो ।