हेटौंडाः स्थायी शिक्षक नियुक्तिका लागि शिक्षक सेवा आयोगले लिने परीक्षा आज मंगलबारबाट सुरु भएको छ । १७ हजार २ सय बढी स्थायी शिक्षकका लागि मंगलबारबाट परीक्षा सुरु भएको हो ।
आज मावि तहको शिक्षकको परीक्षा बिहान ११ बजेबाट सुरु भएको छ । मकवानपुर जिल्लामा १७ वटा परीक्षा केन्द्रमा ३ हजार ८ सय १४ जना परीक्षार्थीले परीक्षा दिने बागमती प्रदेश सरकारअन्तर्गतको शिक्षा विकास निर्देशनालयले जानकारी दिएको छ ।
चैत १७ गते निमावि तहको, १९ गते प्रावि तहको र २१ गते आन्तरिक बढुवातर्फको परीक्षा हुने शिक्षक सेवा आयोगले जनाएको छ । शिक्षक सेवा आयोगले माविमा १ हजार ५ सय ४७, निमावि तहमा २ हजार ५ सउ ९८ र प्राविमा १३ हजार ९३ जनाका लागि विज्ञापन खुलाएको थियो । माविमा मात्रै ३५ हजार ५ सय ५६ जनाको आवेदन परेको थियो । परीक्षामा ४० प्रतिशत अंक प्राप्त गरेमा पास भइन्छ ।
नतिजा प्रकाशन गरी नियुक्ति प्रक्रिया पूरा गर्न करिब एक बर्ष लाग्ने अनुमान गरिएको छ ।