हेटौंडाः प्रथम बागमती प्रदेश खेलकुद प्रतियोगिताको उद्घाटन समारोह सम्पन्न भएको छ । हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा प्रथम प्रदेश खेलकुद प्रतियोगिताको शनिबार साँझ बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले उद्घाटन गर्नुभयो । मुख्यमन्त्री पाण्डेले धावक वैकुण्ठ मानन्धरलाई ओलम्पिक टर्च हस्तान्तरण गरी प्रतियोगिताको उद्घाटन गर्नुभएको हो ।

ओलम्पिक टर्च लिएर धावक बैकुण्ठ मानन्धरले पिप्ले क्याम्पा रंगशालाको खेलमैदान परिक्रमा गर्नुभएको थियो । उद्घाटन समारोहमा तेक्वान्दो खेलाडीले खेल कौशल प्रस्तुत गरेका थिए भने कलाकारहरुले राष्ट्रिय गीतहरुमा नृत्यकला प्रस्तुत गरेका थिए । प्रतियोगिताको उद्घाटन समारोहमा बागमती प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठ, प्रदेशका मन्त्रीहरु, प्रदेश खेलकुद परिषद्का पदाधिकारीहरु सहभागी थिए । उद्घाटन समारोहमा खेलाडीहरुले मार्च मास गरेका छन् ।

प्रदेश खेलकुद प्रतियोगितामा आइतबारदेखि खेल सञ्चालन हुनेछ । बागमती प्रदेशका ५ जिल्लामा विभिन्न प्रतियोगिताहरु १५ दिनसम्म सञ्चालन हुनेछ । बागमती प्रदेशका १३ जिल्लाको सहभागिता रहेको प्रतियोगितामा एथलेटिक्स, फुटबल, भलिबल, कराते, तेक्वान्दो, ब्याडमिन्टन, क्रिकेट र बक्सिङ खेलका १ हजार ८ सय खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।