हेटौंडाः वरिष्ठ कलासाधक भीम विरागको १०औं स्मृति दिवसमा बिजुलीमाया वन अन्तर्राष्ट्रिय संगीत पुरस्कार वरिष्ठ संगीतकार दीपक जंगमलाई प्रदान गरिएको छ । एक लाख रुपैयाँ राशीको सम्मान शनिबार हेटौंडामा एक समारोहका बीच भीम विराग संगीत, साहित्य, कला प्रतिष्ठानले जंगमलाई प्रदान गरेको हो ।
हेटौंडाका व्यवसायी कन्हैया कृष्ण श्रेष्ठले आफ्नी आमाको सम्मानमा विजुली माया वन अन्तर्राष्ट्रिय पुरस्कारको स्थापना गर्नु भएको हो । यस्तै भीम विराग युवा संगीत पुरस्कार–२०७८ गायक शिव परियारलाई प्रदान गरिएको छ । गायक शिव परिवारलाई २५ हजार राशीको युवा संगीत पुरस्कार प्रदान गरिएको हो । प्रतिष्ठानका अध्यक्ष हयग्रीव आचार्यको सभाध्यक्ष्यता तथा वरिष्ठ साहित्यकार एलबी क्षेत्रीको प्रमुख आतिथ्यमा सम्मान समारोह भएको हो ।
कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष हयग्रीव आचार्यले २०५९ सालमा स्थापना भएको भीम विराग संगीत, साहित्य, कला प्रतिष्ठानलाई विभिन्न क्षेत्रबाट सहयोग प्राप्त भएको जानकारी दिनुभयो ।