हेटौंडाः नेवार समुदायको साझा संस्था नेवा देय् दबुको बागमती प्रदेशको अध्यक्षमा मकवानपुरका विष्णुगोपाल महर्जन निर्वाचित हुनुभएको छ । आज शनिबार दिउँसो हेटौंडामा सम्पन्न प्रथम अधिवेशनबाट महर्जनको अध्यक्षतामा २७ सदस्यीय समिति सर्वसम्मत निर्वाचित भएको हो ।
दबुको वरिष्ठ उपाध्यक्षमा रामेछापका चन्द्रलाल मानन्धर, उपाध्यक्षमा दोलखाका उपेन्द्र प्रधान र सिन्धुलीकी सुशीला श्रेष्ठ, प्रमुख सचिवमा चितवनका बद्रिमान श्रेष्ठ, सचिवमा दिलकुमारी श्रेष्ठ र मकवानपुरका गणेश कुमार श्रेष्ठ, कोषाध्यक्षमा विजयराज बज्राचार्य चयन हुनुभएको छ । सदस्यमा दोलखाका बाबुराज श्रेष्ठ, सुशीला श्रेष्ठ, सिर्जना श्रेष्ठ, सिन्धुलीका हर्षबहादुर श्रेष्ठ र कालिदास श्रेष्ठ, धादिङका विष्णुनारायण श्रेष्ठ, बाबुकृष्ण श्रेष्ठ, भरतकुमार श्रेष्ठ र सन्जु श्रेष्ठ चयन हुनुभएको छ । यस्तै रामेछापकी तिलमाया श्रेष्ठ, दल बहादुर श्रेष्ठ, मकवानपुरका निराजन गोपाली, काभ्रेका राजेन्द्र महाजु, चितवनकी सरिता श्रेष्ठ, गोविन्द कृष्ण श्रेष्ठ, सिन्धुपाल्चोकका ज्ञानेन्द्र श्रेष्ठ, शुक्रकुमार श्रेष्ठ, रामकृष्ण श्रेष्ठ र दिलिप कुमार श्रेष्ठ पनि प्रदेश समितिको सदस्य चयन हुनुभएको छ ।
शनिबार बिहान बागमती प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठले अधिवेशनको उद्घाटन गर्नु भएको थियो । उहाँले भाषा, जाति, संस्कृति जगेर्ना गर्नुपर्नेमा जोड दिनुभयो । भाषाको संरक्षण र प्रयोग गर्न समुदाय सचेत हुनुपर्ने उल्लेख गर्नुहुँदै सभामुख श्रेष्ठले संयुक्त राष्ट्रसंघको सदस्यता लिने क्रममा नेपालले मौलिक भाषाको रुपमा नेवारी भाषा र मौलिक लिपीको रुपमा रञ्जना लिपीलाई स्वीकार गरिएकोले नेवारी भाषा र लिपीको संरक्षण गर्नु अझ महत्वपूर्ण भएको बताउनुभयो ।
नेवा देय दवु बागमती प्रदेश समितिका अध्यक्ष उमेश स्थापितको अध्यक्षतामा अधिवेशनको उद्घाटन कार्यक्रम भएको हो । प्रदेश अधिवेशनमा बागमती प्रदेशका १० जिल्लाका एक सय भन्दा बढी प्रतिनिधिको सहभागी थिए । अधिवेशनको अवसरमा शनिबार बिहान नेवारी बाजा, लाखे नाचसहित प्रभातफेरी गरिएको थियो । हेटौंडा–२ स्थित मन्त्र रेष्टुरेन्टबाट निस्किएको प्रभातफेरी संगमचोक, हरिकुञ्जरोड, कान्तिराजपथ, पारिजातपथ, स्कूलरोड, टिसिएनरोड, बसपार्क, राप्तीरोड, बुद्धचोक, मेनरोड, पिपलबोट चोकहुँदै पुनः अधिवेशन आयोजनास्थल मन्त्र रेष्टुरेन्टमा पुगेर समापन गरिएको थियो ।
अधिवेशनको उद्घाटन कार्यक्रममा नेकपा एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठ, नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाको पनि आतिथ्य रहेको थियो ।