गढी गाउँपालिकाको कार्यालय

हेटौंडाः मकवानपुरको मकवानपुरगढी गाउँपालिकाको ८ वटै वडा बालमैत्री घोषणा हुँदैछ । जिल्लाको अन्य पालिकाभन्दा बालविवाह बढी हुने गरेको भए पनि आज शुक्रबार मकवानपुरगढी गाउँपालिकाका वडाहरुलाई बालमैत्री घोषणा गर्न लागिएको हो ।

बालमैत्री स्थानीय शाषण कार्य निर्देशिका पास गरी बालमैत्रीको ५१ वटा सूचक पूरा भएकाले बालमैत्री घोषणा गर्न लागिएको गाउँपालिकाका प्रशासकीय अधिकृत रामप्रसाद पुडासैनीले जानकारी दिनुुभयो । बाल बचाउ, बाल संरक्षण, बाल विकास, बालश्रम मुक्तजस्ता मुख्य सूचकहरु पूरा भएकाले बालमैत्री घोषणा गर्न लागिएको पुडासैनीले बताउनु भयो । गाउँपालिकालाई आगामी चैत्र १२ गते बालमैत्री घोषणा गरिने उहा“ले जानकारी दिनु भएको छ ।

मकवानपुरगढी गाउँपालिकामा चालु आर्थिक वर्षको हालसम्म २० वर्ष उमेर नपुगी १४ जना किशोरी आमा बनेको स्वास्थ्य कार्यालय मकवानपुरको तथ्यांकमा उल्लेख छ । यस तथ्यांकले गाउँपालिकामा बालविवाह गर्नेको संख्या उल्लेख्य रहेको पुष्टि गर्दछ । अधिकृत पुडासैनीका अनुसार गाउँपालिकालाई बालमैत्री घोषणा गरेपश्चात् बालविवाह न्यूनीकरणमा ५ वर्षे रणनीतिक योजना कार्यान्वयन गरिनेछ ।

अञ्जना तामाङ