फाइल तस्बिरः हेटौंडा उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालय ।

हेटौंडाः मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा महिला कर्मचारीको संख्या उल्लेख्य रहेको छ । उपमहानगरपालिकाको शिक्षा तथा स्वास्थ्य क्षेत्रमा कार्यरत कर्मचारीमा पुरुषभन्दा महिलाको संख्या बढी रहनुले महिला कर्मचारीको संख्या उत्साहजनक पाइएको हो ।

पितृसत्तात्मक समाजमा महिलालाई घरबाहिरको काममा संलग्न हुन प्रोत्साहन गर्ने गरिँदैन । तर, हेटौंडा उपमहानगरपालिकामा रहेका महिला कर्मचारीको संख्यालाई हाम्रो समाजका लागि उदाहरणीय मान्न सकिन्छ । राज्यका हरेक निकायमा ३३ प्रतिशत महिलाको सहभागिता सुनिश्चित गरेसँगै स्थानीय तहमा समेत महिला कर्मचारीको संख्या उल्लेख्य देखिएको हो ।

हेटौंडा उपमहानगरपालिका कार्यालयमा स्थायी, ज्यालादारी, करार गरी ३ सय ३० जना कर्मचारी कार्यरत रहेको उपमहानगरपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक महाशाखा प्रमुख जगन्नाथ सापकोटाले जानकारी दिनुभयो । उपमहानगरपालिकामा रहेका कर्मचारीमा एक सय ५८ जना महिला र एक सय ७२ जना पुरुष रहेको उहाँले बताउनुभयो । यस तथ्यांकअनुसार उपमहानगरपालिकामा महिला कर्मचारी ४८ प्रतिशत रहेको देखिन्छ ।

हेटौंडा उपमहानगरपालिकामा ४५ जना महिला र ९१ जना पुरुष गरी एक सय ३६ जना स्थायी कर्मचारी रहेका छन् । उपमहानगरपालिकामा ९ जना महिला र २१ जना पुरुष गरी ३० जना ज्यालादारी कर्मचारी रहेको सापकोटाले बताउनुभयो । यस्तै, ३१ जना महिला र ५८ जना पुरुष गरी ८९ जना करार सेवामा कार्यरत कर्मचारी रहेको उहाँले जानकारी दिनुभयो ।

उपमहानगरको स्वास्थ्य क्षेत्रमा ८२ जना महिला र २३ जना पुरुष गरी १ सय ५ जना कर्मचारी कार्यरत रहेका छन् । यस्तै, ५ सय ३५ जना पुरुष र ५ सय ७५ जना महिला गरी १ हजार १ सय १० जना शिक्षकहरु उपमहानगरपालिकाभित्रका सामुदायिक विद्यालयमा कार्यरत रहेको सापकोटाले जानकारी दिनुभयो । उपमहानगरपालिका क्षेत्रका सामुदायिक र संस्थागत विद्यालयहरुमा २५ हजार ६ सय ८० जना छात्र र २२ हजार ७ सय ९४ जना छात्रा गरी ४८ हजार ४ सय ७४ जना विद्यार्थी अध्ययनरत रहेको उहाँले बताउनुभयो ।