हेटौंडाः पुरानो नारायणी यातायात कम्पनी प्रालिले सार्वजनिक यातायातको क्षेत्रमा गर्नुपर्ने सुधारका विषयमा अन्तरक्रिया गरेको छ । पुरानो नारायणी यातायात व्यवसायी संघका अध्यक्ष हिरालाल श्रेष्ठको अध्यक्षता तथा बागमती प्रदेश सरकारका श्रम, रोजगार तथा यातायात मन्त्री घनश्याम दाहालको प्रमुख आतिथ्यतामा अन्तरक्रिया भएको हो ।

पुरानो नारायणी यातायात कम्पनी प्रालिका अध्यक्ष श्रेष्ठले अहिले प्रदेशभित्र सञ्चालन भइरहेको गाडीका नम्बरमा प्रादेशीकरण हुन नसकेको बताउनुभयो । ब्लुबुकका आधारमा प्रादेशीकरण गर्न प्रदेश सरकारलाई पटक–पटक आग्रह गर्दा पनि कार्यान्वयन हुन नसकेको उहाँले बताउनुभयो । पुरानो नारायणी यातायात कम्पनी प्रालिका प्रबन्ध निर्देशक सरोजकुमार खनालले सार्वजनिक यातायातको क्षेत्रमा गर्नुपर्ने सुधारका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उहाँले यातायात क्षेत्र देश विकासको मेरुदण्ड र लाखौं जनतालाई रोजगारी प्रदान गरी राष्ट्रको कुल गार्हस्थ उत्पादनमा १८ प्रतिशत योगदान पु¥याइएको बताउनुभयो । कुनै दुर्घटना हुँदा ठुला सवारी साधनकै गल्ती र चालककै गल्ती हुने र उसलार्ई सजाय तथा जरिवाना गर्ने परम्पराले चालकहरु अन्यायमा पर्ने उहाँले बताउनुभयो ।

बागमती प्रदेश सरकारका श्रम रोजगार तथा यातायात मन्त्री घनश्याम दाहालले बागमती प्रदेश सरकारले यातायात क्षेत्रको विकास र व्यवस्थापन गर्न नै यातायात मन्त्रालय बनाएको बताउनुभयो । उहाँले प्रदेश सरकारले भाडा निर्धारण÷समायोजन तथा विद्युतीय माध्यमद्वारा भाडा भुक्तानी नियमावली बनाएको बताउनुभयो । प्रदेशभर चल्ने सवारी साधनले एकै ठाउँमा कर तिर्न सकिने व्यवस्था प्रदेश सरकारले गर्ने मन्त्री दाहालले बताउनुभयो ।

यस्तै बागमती प्रदेश ट्राफिक कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सुशील सिंह राठौरले अहिले प्रदेशमा सवारी साधनहरु चाप उल्लेख्य भएको तर सडकको अवस्था उस्तै रहेको बताउनुभयो । सडकहरु बिग्रिएकाले दैनिक सवारी दुर्घटना हुँदा प्रदेशभरी दैनिक ३ जनाको मृत्यु हुने गरेको उहाँले बताउनुभयो । कतिपय दुर्घटनाहरु मानिसहरुले नदेखेका ठाउँहरुमा हुने हुँदा सीसी टिभीको व्यवस्था भयो भने घटनाको अनुसन्धान गर्न सजिलो हुने उहाँले बताउनुभयो ।

कार्यक्रममा बागमती प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामी, नेकपा एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठ, काङ्गे्रस मकवानपुरका अध्यक्ष बुद्ध लामा, हेटौंडा उपमहानगरपालिकाका उपमेयर मिना कुमारी लामा, बागमती प्रदेश सरकारको श्रम रोजगार तथा यातायात मन्त्रालयका सचिव नेत्र प्रसाद सुवेदी, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव धनीराम शर्मा, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुरेन्द्र बहादुर गुरुङ लगायतको आतिथ्य रहेको थियो ।