हेटौंडाः झरना साहित्यिक परिवार मकवानपुर र पुस्तकालय अभियान समूह मकवानपुरको सहकार्यमा बकैया–३, हात्तिसुडेमा पुस्तकालय स्थापना हुने भएको छ । झरना साहित्यिक परिवार मकवानपुरले यही फागुन २७ र २८ गते बकैया गाउँपालिकामा आयोजना गर्ने बकैया कला–साहित्य महोत्सवको अवसरमा पुस्तकालय स्थापना गर्न लागिएको हो ।
![](https://samriddhasamaj.com/wp-content/uploads/2022/03/IMG_20220303_165534-1024x768.jpg)
पुस्तकालय स्थापनापछि वडा र पालिकाको समेत साथ र सहयोग रहने प्रतिवद्धता प्राप्त भएको झरना साहित्यिक परिवार मकवानपुरका अध्यक्ष दीपक गौतमले जानकारी दिनुभएको छ । पुस्तकालय स्थापनाकै लागि झरनाले आज हेटौंडा–५ स्थित पुष्पलाल स्मृति पुस्तकालयमा पुस्तक संकलनको कार्य गरेको छ । मकवानपुर जिल्लाका साहित्यकार, लेखकका कृति संकलन गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा ३३ जनाले २ सय ३३ थान पुस्तक सहयोग गरेका छन् । संकलित पुस्तक महोत्सवको अवसरमा प्रदर्शन गरेर पुस्तकालयमा राखिने अध्यक्ष गौतमले जानकारी दिनुभयो ।
![](https://samriddhasamaj.com/wp-content/uploads/2022/03/IMG_20220303_164432-1024x768.jpg)
पुस्तकसँगै हेटौंडा–११ का सुदर्शन अधिकारीले पुस्तकालय स्थापनाकै लागि १० हजार रुपैयाँ सहयोग गर्नुभएको छ । पुस्तकालय अभियान समूहका सदस्य सुरेश श्रेष्ठले हेटौंडा क्याम्पसले पुस्तकालय स्थापनाका लागि सहयोग गरेको रकमबाट बकैया–३ मा पुस्तकालय स्थापनाका लागि पुस्तक सहयोग गरिने जानकारी दिनुभयो ।
![](https://samriddhasamaj.com/wp-content/uploads/2022/03/IMG_20220303_170026_2-1024x788.jpg)
यसअघि पुस्तकालय अभियान समूहकै अग्रसरतामा बकैया–४ र बकैया–७ मा दुईवटा पुस्तकालय स्थापना भइसकेका छन् । झरना साहित्यिक परिवार मकवानपुरका अध्यक्ष दीपक गौतमको अध्यक्षता तथा मकवानपुरका वरिष्ठ साहित्यकार तुल्सी थापाको प्रमुख आतिथ्यमा पुस्तक संकलन कार्यक्रम भएको थियो ।