चोरीको मोटरसाइकलसहित पक्राउ परेका बिश्वकर्मा र साह ।

हेटौंडाः चोरी भएको मोटरसाइकलसहित दुईजनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । फागुन १२ गते मकवानपुरको मनहरी गाउँपालिका–८ का राजकुमार लोप्चनको घरबाट चोरी भएको ना ६२ प ९६४२ नम्बरको २२० सीसीको पल्सर मोटरसाइकलसहित हेटौंडा–११ का २३ वर्षीय विशाल विश्वकर्मा र हेटौंडा–१० स्थायी घर भई मकवानपुरको मनहरी गाउँपालिका–८, सिम्पानीस्थित अटो ग्यारेज सञ्चालन गरी बसेका २२ वर्षीय रवि साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मोटरसाइकल चोरी भएको भनी राजकुमार लोप्चनले प्रहरीमा निवेदन दिएपछि खोजतलास गर्ने क्रममा प्रहरीले मंगलबार दिउँसो ४ बजेको समयमा हेटौंडा–११, नमुनाचोकमा विशाल बिश्वकर्माको डेरामा चोरीको मोटरसाइकल बरामद गरेको जनाएको छ । चोरीको मोटरसाइकलसहित पक्राउ परेका बिश्वकर्मा र साहलाई मकवानपुर जिल्ला अदालतबाट १४ दिन म्याद अनुमति लिई हिरासतमा राखेर प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।