हेटौंडाः मकवानपुरका गजलकार विश्वनाथ सञ्जेलको ‘फर्कियोे किनारबाट’ गजल संग्रह तयार भएको छ । बकैया साहित्य–कला महोत्सवको अवसरमा यही फागुन २७ गते सञ्जेलको गजल संग्रह विमोचन हुने छ ।

तेस्रो कृतिको रुपमा विमोचन हुने यस गजल संग्रहमा ७५ वटा गजल रहेका छन् । पलपलको मूल्य (गजल संग्रह)—२०६८ सञ्जेलको पहिलो कृति हो भने दोस्रो कृति क्षितिज–यात्रा (मुक्तक संग्रह)–२०७५ हो । २०४३ साल असारमा पोखरामा जन्मनुभएका सञ्जेलले नेपाली विषयमा स्नात्तकोत्तर तह अध्ययन गर्नुभएको छ । सञ्जेल सुनगाभा साहित्य सम्मान–२०६९, गजल मञ्च मकवानपुर कदरपत्र–२०६९, सञ्जेल बन्धु समाज, सर्जक सम्मान–२०७० र झरना रजत सम्मान–२०७४ बाट सम्मानित भइसक्नु भएको छ ।

झरना साहित्यिक परिवार मकवानपुरका उपाध्यक्ष तथा सञ्जेल बन्धु समाजको केन्द्रीय सदस्य लगायत विभिन्न साहित्यिक एवम् सामाजिक संघ, संस्थामा आवद्ध रहनुभएका सञ्जेल झरना साहित्यिक पत्रिकाका सम्पादक हुनुुहुन्छ । बकैया–४, छतिवनका स्थायी वासिन्दा सञ्जेल रौतहट जिल्लाको गरुडा नगरपालिका–३ स्थित सरस्वती माविमा मावि तहमा नेपाली शिक्षकको रुपमा अध्यापनरत हुनुहुन्छ ।