हेटौंडाः नेपाली कांग्रेस मकवानपुरको सभापतिमा बुद्ध लामा चयन हुनुहुने भएको छ । पहिलो चरणको मतदान अनिर्णित बनेपछि नेताहरुबीच सभापतिमा सर्वसम्मत नयाँ नेतृत्व चयन गर्ने सहमति भएको श्रोतले जनाएको छ ।
नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डीना’, बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँ, सभापतिका उम्मेदवार आनन्दराम पराजुली, नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्र नम्बर १ का सभापति दामोदर खनाल सहभागी बैठकले बुद्ध लामालाई सभापति चयन गर्ने सहमति भएको बताइएको छ । केहीबेरमै पार्टी कार्यालयमा बुद्ध लामा जिल्ला सभापति चयन भएको घोषणा गर्ने तयारी समेत भइरहेको छ ।
सोमबार भएको पहिलो चरणको मतदानमा बुद्ध लामाले ५ सय ९२ मत प्राप्त गर्नुभएको थियो भने आनन्दराम पराजुलीले ५ सय ४५ मत प्राप्त गर्नुभयो । यस्तै अर्का आकांक्षी जयराम लामिछानेले ५ सय ३१ मत प्राप्त गर्नुभएको थियो । १ हजार ८ सय ५३ प्रतिनिधिमध्ये १ हजार ७ सय ७५ प्रतिनिधिले मतदान गरेका थिए ।
पहिलो चरणमा सभापति चयन हुन उम्मेदवारहरुले पर्याप्त मत प्राप्त गर्न नसकेपछि निर्वाचन समितिले दोस्रो चरणको मतदान मंगलबार दिउँसो १ बजेदेखि सुरु हुने सूचना प्रकाशित समेत गरिसकेको थियो ।