वत्सराज कोइराला

संयुक्त राष्ट्र संघीय सुरक्षा परिषद्मा युक्रेन आक्रमणलाई लिएर रूसको निन्दा र खेद प्रस्ताव पारित गर्न भनी केही मतदान सम्पन्न भयो । खेद प्रस्तावको पक्षमा सुरक्षा परिषदका ११ वटा सदस्य राष्ट्रले मतदान गरे भने विपक्षमा रुसको एक मत पर्‍यो । परिषद्का अन्य सदस्य राष्ट्रहरु चीन, भारत र संयुक्त अरब इमिरेट्सले मतदानमा भाग लिएनन् । त्यसपछि रूसले भिटो लगाइदियो ।

यसबाट के प्रष्ट हुन्छ भने, संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्ले केवल साना र कमजोर देशहरुमा मात्र कारवाही गर्न सक्छ । भिटो पावर मेम्बर्स राष्ट्रहरु (अमेरिका, रसिया, ब्रिटेन, जर्मनी, फ्रान्स, चाइना) विरुद्ध युद्ध रोक्ने विषयमा सुरक्षा परिषद् पूर्णतः निष्प्रभावी छ । युद्धको विभिषिका अन्त्य गर्नलाई संयुक्त राष्ट्र संघको स्थापना भएको मानिने भए पनि यसको अस्तित्व अर्थहीन रहेछ भन्ने कुरा यसपटक पनि सावित भयो । बिर्सन नहुने कुरा, भ्लादिमिर पुटिनले रसियाको आफ्नै लोकतान्त्रिक सरकारको घाँटी थिचेर सन् २०३६ सम्मका लागि सत्ता हत्याएको थियो । अहिले आएर स्वतन्त्र छिमेकी राष्ट्रलाई बलपूर्वक कब्जा गर्ने ध्याउन्नमा छ ।

पुटिनको विरुद्ध रसियामा लाखौं मानिसहरू उभिएका छन् । थुप्रै देशहरुले रसियासँगको सम्बन्ध तोड्न थालेका छन् । अमेरिकाले रुसी आक्रमणको मुद्दा संयुक्त राष्ट्र संघको महासभामा पेस गरिसकेको छ । उसले राष्ट्रपति पुटिन र रुसी विदेश मन्त्रीलाई अमेरिका यात्रामा प्रतिबन्ध लगाएको छ । अमेरिकाले केही रसियन व्याङ्कहरुलाई डलर ट्रान्जिक्सन गर्न नमिल्ने बनाएको छ । बेलायतले रसियाको राष्ट्रिय एयरलाइन्स एरोफ्लोतलाई आफ्नो एयरपोर्टमा ल्याण्डिङ गर्न निषेध गर्‍यो । साथै बेलायतले रुसमा निर्यात गर्दै आएको तेल प्रशोधन सम्बन्धी सामग्रीहरु रुसमा पठाउन बन्द गरेको छ । जापानले पनि विभिन्न हाइटेक सामान रुसमा पठाउन बन्द गरेको छ । जर्मनीले रुससँगको पेट्रोलियम ग्यास पाइपलाइन प्रोजेक्टसम्बन्धी सम्झौता हाललाई रद्द गरेको छ । यसरी विभिन्न मुलुकहरूले रुसलाई एक्ल्याउन थालिसकेका छन् । अहिले रसियाको साथमा कोही छैन ।