कांग्रेस मकवानपुरको नयाँ नेतृत्व चयनका लागि मतदान गर्दै ।

हेटौंडाः नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नेपाली कांग्रेस मकवानपुरको अधिवेशन आइतबारबाट सुरु भएको छ । अधिवेशनअन्तर्गत आज सोमबार मतदानको कार्य हुँदैछ । बिहान ९ बजेदेखि सुरु गर्ने भनिएको मतदान कार्य बिहान साढे ११ बजेबाट सुरु भएको छ ।

हेटौंडा–१, चौकीटोलस्थित डल्फिन चौरमा मतदान केन्द्र तयार पारिएको छ । नेपाली कांग्रेस मकवानपुरको सभापतिका लागि तीनजनाको उम्मेदवारी परेको छ । हिजो आइतबार सभापतिका लागि आनन्दराम पराजुली, जयराम लामिछाने र बुद्ध लामाले आफ्नो प्यानलसहित उम्मदेवारी दर्ता गराएका छन् । पराजुलीको प्रस्तावकमा दिनेश उपाध्याय र समर्थकमा निलम बजगाई देवकोटा रहनुभएको छ ।

लामिछानेको प्रस्तावकमा देव कुमार श्रेष्ठ र समर्थकमा ईश्वर नाथ पौडेल रहनुभएको छ । लामाको प्रस्तावकमा प्रभात दाहाल र समर्थकमा राम बाबु बानियाँ रहनुभएको छ । यसैगरी ४१ जना सदस्यका लागि १ सय १५ जनाको उम्मेदवारी परेको निर्वाचन समितिका सदस्य रामकुमार अधिकारीले जानकारी दिनुभएको छ । जिल्ला अधिवेशनमा १ हजार ८ सय ५३ प्रतिनिधिले मतदान गर्नेछन् । ७ पदाधिकारी र ४१ सदस्यसहित ४८ जना जिल्ला समितिमा निर्वाचित हुनेछन् ।