हेटौंडाः हेटौंडा–१७, हटिया नेपाल लोकतान्त्रिक चौरमा प्यारापिटसहित भलिबल कोर्ट निर्माण हुने भएको छ । आईतबार हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले प्यारापिटसहितको भलिबल कोर्ट निर्माण कार्यको सुरुवातस्वरुप शिलान्यास गर्नुभएको छ । हटिया स्पोर्टस एकेडेमीले प्यारापिटसहितको भलिबल कोर्ट निर्माण गर्नुलाई स्वप्न परियोजनाको रुपमा लिएको एकेडेमीका अध्यक्ष छवि सुवेदीले बताउनुभएको छ ।
हेटौंडा उपमहानगरपालिकाको १० लाख ९ हजार रुपैयाँ, उपभोक्ता समितिको १ लाख २६ हजार रुपैयाँ तथा अन्य स्रोतबाट १ लाख २६ हजार रुपैयाँ बजेट गरी कुल १२ लाख ६१ हजार रुपैयाँ बजेटमा प्यारापिटसहितको भलिबल कोर्ट निर्माण गरिन लागेको अध्यक्ष सुवेदीले बताउनुभयो । भलिबल कोर्टको पूर्व र दक्षिण भागमा सिमेन्टको पक्की प्यारापिट निर्माण गरिने अध्यक्ष सुवेदीले जानकारी दिनुभएको छ । ८ सय दर्शक क्षमताको ८० मिटर लम्बाईको प्यारापिट बन्नेछ ।
सार्वजनिक खुलाचौरमा हटिया स्पोर्टस् एकेडेमीले एक दशकभन्दा बढी समयदेखि भलिबल प्रतियोगिता आयोजना गर्दै आएको थियो । दुईवटा कोर्टसहित प्यारापिट निर्माणपछि जिल्ला, प्रदेश तथा राष्ट्रियस्तरकै प्रतियोगिता आयोजना गरिने सुवेदीले बताउनुभयो । प्यारापिट निर्माणका लागि हटिया स्पोर्टस् एकेडेमीका उपाध्यक्ष समेत रहनुभएका त्रिविक्रम रुपाखेतीको अध्यक्षतामा ७ सदस्यीय उपभोक्ता समिति गठन गरिएको छ । प्यारापिट निर्माण २०७९ जेठ ३० गतेसम्ममा सम्पन्न गर्ने उद्देश्य रहेको अध्यक्ष सुवेदीले जानकारी दिनुभयो । प्यारापिट शिलान्यास कार्यक्रममा हेटौंडा–१७ का वडाध्यक्ष भैरवबहादुर राई, वडा सदस्य ईश्वरी सुनारको पनि उपस्थिति रहेको थियो ।
भलिबल कोर्टमा प्यारापिट शिलान्यासपछि मेयर हरिबहादुर महतले नेपालचौरमै निर्माणाधिन फुटसल कोर्टको पनि निरीक्षण गर्नुभएको छ । हेटौंडा उपमहानगरपालिकाको ७० लाख रुपैयाँ लागतमा फुटसल कोर्ट निर्माण भइरहेको छ । फुटसल कोर्ट निर्माण कार्य करिब आधा सकिसकेको बताइएको छ ।