हेटौंडाः बालश्रम अन्त्यको विषयमा सरकोरावालबीच मंगलबार हेटौंडामा अन्तरक्रिया भएको छ । स्वतन्त्रता अभियान नेपालको आयोजनामा भएको अन्तरक्रियामा मकवानपुर जिल्लाका विभिन्न पालिकाका जनप्रतिनिधि, कर्मचारी, गैरसरकारी संस्थाका प्रतिनिधि, बालबालिकाका प्रतिनिधिको सहभागिता रहेको थियो ।
यस्तै प्रमुख सरोकारवालाको रुपमा बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका उपसचिव गोपाल कँडेल, प्रदेश नीति तथा योजना आयोगका उपसचिव हरिहर पोखरेल, श्रम कार्यालय हेटौंडाका प्रमुख छन्दनारायण श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेश समितिका सदस्य जीवनकाजी माकजु श्रेष्ठ रहनुभएको थियो । अन्तरक्रियाअघि स्वतन्त्रता अभियान नेपालको साझेदार संस्था ग्रमीण महिला स्वाबलम्बन संस्थाका सोम लामाले बालश्रमको विषयमा गरिएको अनुसन्धानको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । समुदायमा आधारित अनुसन्धानले परिवारकै सदस्य, आफन्त र गाउँलेकै सहयोगमा बालबालिका निकृष्ट श्रममा सहभागी हुन बाध्य भइरहेको लामाले बताउनुभयो ।
अन्तरक्रियामा सहभागीले स्थानीय सरकार जिम्मेवार हुन नसकेको, जनप्रतिनिधि र कर्मचारीमा बालश्रमको अन्त्य गर्ने प्रतिवद्धता नभएको भन्दै आलोचना गरेका थिए । सामाजिक विकास मन्त्रालयका उपसचिव गोपाल कँडेलले बालश्रम अन्त्यका लागि गरिबी निवारण हुनुपर्ने उल्लेख गर्नुभयो । बालश्रम न्यूनीकरणका लागि प्रदेश सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको पनि कँडेलले बताउनुभयो । प्रदेश नीति तथा योजना आयोगका उपसचिव हरिहर पोखरेलले बालश्रम न्यूनीकरण गर्न सवैको भूमिका रहनुपर्ने बताउनुभयो ।
अन्तरक्रियामा सहजकर्ताको भूमिका निर्वाह गर्नुभएका प्रकाश खतिवडाले सन् २०२५ सम्म बालश्रम अन्त्य भएको घोषणा गर्ने सरकारी योजना रहेको जानकारी दिनुभयो । सरकारले आफ्नो योजना पूरा गर्न नागरिक समाज, सरोकारवालासँग आवश्यक सहजीकरण गर्नुपर्नेमा पनि खतिवडाले जोड दिनुभएको छ ।