हेटौंडाः रोटरी क्लब अफ हेटौंडाको सक्रिय युवाहरुको संस्था रोट्र्याक्ट क्लब अफ हेटौंडाले मकवानपुरको मकवानपुरगढी गाउँपालिका–५, बुङदोलडाँडास्थित सरस्वती आधारभूत विद्यालयका ७० जना विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण गरेको छ ।

क्लबले १ वर्षका लागि आवश्यक पर्ने कापी, पेन्सिल, बलपेन, बिस्कुट सहयोग गरेको छ । आइतबार विद्यालयमै पुगेर सहयोग सामग्री हस्तान्तरण गर्नुका साथै विद्यार्थीलाई स्वस्थ राख्ने बानी पार्न परामर्श समेत गरी एक÷एक सेट टुथब्रस तथा मञ्जन समेत वितरण गरेको छ । रोटरी क्लब अफ हेटौंडाको सहयोगमा करिब ३० हजार रुपैयाँ बराबरको शैक्षिक सामग्री रोटरी क्लब अफ हेटौंडाका पूर्वअध्यक्षहरु धिरज कार्की, उज्जल शर्मा भण्डारी, ईन्द्रप्रसाद नेपाल, अध्यक्ष रामप्रसाद शर्मा, सचिव ध्रुव पराजुली, कोषाध्यक्ष श्याम मुडभरीलगायतले वितरण गरेका थिए ।

रोट्र्याक्ट क्लब अफ हेटौंडाका अध्यक्ष रवि नेपालको अध्यक्षतामा भएको कार्यक्रममा रोटरी क्लब अफ हेटौंडाका पूर्वअध्यक्ष ईन्द्रप्रसाद नेपाल र शिक्षा समितिका सदस्य वासु न्यौपानेको विशेष सुझाव र सहयोगमा आफ्नै रोटरी ब्रान्डको सन्देशमूलक कापी बनाई वितरण गरिएको थियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक चतुर्भुज पौड्यालको पनि उपस्थिति रहेको थियो ।