नेपालमा सम्बन्धविच्छेदको घटनामा निकै वृद्धि हुँदै गइरहेको छ । जसले गर्दा नेपाली समाजमा सम्बन्धविच्छेद सामान्यजस्तो बन्न लागेको छ । २०७५ भदौ १ गतेदेखि लागू भएको मुलुकी ऐनअन्तर्गत्को देवानी संहिताले पुरुषलाई पनि सम्बन्धविच्छेदका लागि अदालतमा निवेदन दिन पाउने अधिकार दिएपछि सम्बन्धविच्छेदका मुद्दा बढ्नुको एउटा कारण बनेको छ । तर, विवाहपछि महिला वा पुरुषले आफूले सोचेजस्तो जीवन जिउन र स्वतन्त्र हुन नपाउँदा वैवाहिक सम्बन्धमा खटपट भएर सम्बन्धविच्छेदसम्म पुग्ने गरेको पाइन्छ । बालविवाह, बहुविवाह, अनमेल÷अन्तरजातीय विवाह, प्रेमविवाह, असमझदारी, अपहेलना, गरिबी, सम्पत्ति, रोग, निःसन्तान, शंकालु भावना तथा वैदेशिक रोजगारीजस्ता विविध कारणले दाम्पत्य सम्बन्धमा चिसोपना ल्याइरहेको छ । यस्ता समस्यालाई पति÷पत्नी मिलेर समाधान गर्न नसक्दा सम्बन्धविच्छेदको मुद्दा दर्ता हुने गरेको छ ।
वैवाहिक जीवनको असफलताको अन्तिम बिन्दु भनेकै सम्बन्धविच्छेद बन्दछ । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा हेटौंडा उपमहानगरपालिकाका एक सय चार दम्पत्तिको सम्बन्धविच्छेद भएबाट पनि यो समस्या गम्भीर बन्दै गएको बुझ्न सकिन्छ । हेटौंडा उपमहानगरले सार्वजनिक गरेको व्यक्तिगत घटना दर्ताको तथ्यांकलाई हेर्दा सम्बन्धविच्छेदका घटना भयावह बन्ने सम्भावना देखिएको छ । पछिल्लो ६ महिनामा ८ सय १८ दम्पत्तिको विवाह दर्ता हुँदा एक सय ४ दम्पत्तिको सम्बन्धविच्छेद भएको हो । यस तथ्यांकअनुसार विवाह दर्ताको करिब १३ प्रतिशत सम्बन्धविच्छेद भएको देखिन्छ ।
विगतमा सम्बन्धविच्छेदका लागि महिलाको इच्छालाई सर्वोपरि मानिए पनि मुलुकी ऐन २०२० लाई प्रतिस्थापित गर्ने २०७५ भदौबाट देवानी संहिता लागू भएपछि धेरै पुरुषहरु सम्बन्धविच्छेदका लागि अदालत धाउन थालेका छन् । विगतमा पुरुषबाट महिलाले विभिन्न शारीरिक तथा मानसिक यातना र सामाजिक विभेद खेपिरहेका कारण सम्बन्धविच्छेदका घटना बढेको भनिए पनि वैवाहिक सम्बन्धबाट पुरुष पनि पीडित हुने गरेको यथार्थलाई सम्बन्धविच्छेदका लागि पुरुष समेत अग्रसर हुनुले पुष्टि गर्दछ । जसका कारण नेपाली समाजमा सम्बन्धविच्छेद सामान्यजस्तो बन्न लागेको छ । बढ्दो सम्बन्धविच्छेदले हाम्रो परम्परागत सामाजिक विश्वास, प्रेम, सामूहिक भावना, सम्बन्ध र सद्भावमाथि नै गम्भीर सवाल पैदा भएको छ । बढ्दो विदेश मोह र त्यसले निम्त्याएका विविध सामाजिक तथा घरायसी समस्याका कारण सम्बन्धहरु टिकाउ हुन नसकेको कारण सम्बन्धविच्छेद बढ्नुको प्रमुख कारण बन्दै गएको छ ।
सम्बन्ध जोड्न र तोड्न महिला र पुरुष दुबैको समान भूमिका हुन्छ । श्रीमान् र श्रीमतीबीच विश्वास बनिरहुञ्जेलसम्म सम्बन्ध राम्रो हुन्छ भने विश्वासमा संकट आएपछि सम्बन्धविच्छेदको प्रक्रिया सुरु हुन्छ । पारिवारिक चक्र सहजरुपमा चलाउन श्रीमान्–श्रीमती एक रथका दुई पाङ्ग्रा हुनैपर्छ । सामान्य कुरामा विभिन्न शंका र अनावश्यक वादविवाद गर्दै जाँदा वैवाहिक र पारिवारिक सम्बन्ध बिग्रँदै जान्छ । बढ्दो एकल परिवारको प्रचलन, नैतिक मूल्य र मान्यतामा ह्रास, वैदेशिक रोजगार, सामाजिक सञ्जालको दुरुपयोग आदि कारण उत्पन्न विकृतिले सम्बन्धविच्छेद बढाउन मलजल गरिरहेको छ । सम्बन्धविच्छेदले क्षणिकरुपमा वैयक्तिक स्वतन्त्रता प्राप्त भए पनि यसले हाम्रो सामाजिक संरचनामा गम्भीर नकारात्मक असर पार्दछ । श्रीमान्–श्रीमतीबीच आपसी विश्वास र सम्मानको भावना उच्च बनाएर एक–आपसको सम्बन्धलाई बलियो बनाउन सकेमा सम्बन्धविच्छेदका घटना कम हुनसक्छ ।










