हेटौंडाः मकवानपुरको विकट राक्सिराङ र मनहरी गाउँपालिकाका अति विपन्न चेपाङ तथा तामाङ समुदायका ६ सय १० परिवारलाई जाडोबाट बच्नका लागि न्यानो कपडा वितरण गरिएको छ । नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिले बिहीबार मकवानपुरको राक्सीराङ गाउँपालिका १, ३ र ५ को टंगरङ्ग, साझाबंगीम, निगुरेटार, चुरेडाँडा, ईन्द्रुङ, राम्चे, मैनटार डोटेलगायतका टोलका ३ सय चेपाङ तथा तामाङ घरपरिवारलाई न्यानो कपडा कम्वल वितरण गरेको हो ।
त्यसैगरी मनहरी ४ का नयाँवस्तीका वनकरिया, प्रजा, तामाङ, दलित समुदायका २ सय घरपरिवार र मनहरी ३ लामिटारका १ सय १० घरपरिवारलाई न्यानो कपडा कम्वल वितरण गरिएको हो । कांग्रेस बागमती प्रदेश सभापति एवम् बागमती प्रदेश सभामा कांग्रेस संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यमा भएको न्यानो कपडा वितरण कार्यक्रममा प्रतिनिधिसभा २ ख का प्रदेश सभापति रञ्जन कालाखेती राक्सीराङ गाउँपालिका अध्यक्ष एवम् कांग्रेस मकवानपुरका जिल्ला सदस्य राजकुमार मल्ल, कांग्रेस मनहरी गाउँपालिका सभापति प्रकाश बर्तौला, राक्सिराङ गाउँपालिका सभापति बीरेन्द्र जिम्बा, मनहरी ३ का वडा सभापति रमेश पुरी, मनहरी ४ का वडा सभापति आईतसिं तितुङलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा नेपाली कांग्रेस बागमती प्रदेश उपसभापतिद्वय मोहनबहादुर बस्नेत, चन्द्र महर्जन, महामन्त्री कन्चनचन्द्र वादे, सहमहामन्त्रीहरु ऋषिराम घिमिरे, हरिशरण श्रेष्ठ, जीवन डंगोल, सदस्यहरु देवकी गौतम, कल्पना खड्का, जानुकी लामा, समाजसेवी होमनाथ चौलागाई, राक्सिराङ गाउँपालिकाकी उपाध्यक्ष निर्मला हिमडुङलगायत नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।