हेटौंडाः हेटौंडा–४, कमलडाँडास्थित नवोदय शिशु सदनमा कफी हाउस कार्यक्रम सञ्चालनमा आएको छ । बुधबार कक्षा ७, ८ र ९ ‘क’ सेक्सन ‘ए’ समूहमा अध्ययनरत विद्यार्थीले निर्माण गरेका पुस्तक कफी हाउस कार्यक्रम मार्फत विमोचन गरी त्यस पुस्तकबाट एउटा सिर्जना आफ्नो अभिभावकमाझ प्रस्तुत गरेका छन् ।
विद्यार्थीको सिर्जनशील क्षमता, तार्किक क्षमता, कल्पनाशक्ति, नेतृत्व विकास तथा व्यक्तित्व विकास पुर्याउने विश्वासका साथ विद्यालयले विगत ५ वर्षदेखि कफी हाउस कार्यक्रम गर्दै आइरहेको छ । कार्यक्रममा कक्षा ७ सेक्सन ए को कफी हाउस कार्यक्रममा प्रमुख अतिथि रहेका सर्जक सञ्जाल मकवानपुरका अध्यक्ष निमेष निखिलले साहित्य क्षेत्रमा कलम चलाएर दाम नकमाए पनि नाम भने पक्कै कमाइने बताउनुभयो । ‘लेख्नु पनि वृत्ति विकासको पाटो हो,’ निमेष निखिलले भन्नुभयो, ‘लेखेर नै महाकवि लक्ष्मीप्रसाद देवकोटा, लेखनाथ पौडेलले साहित्य जगतमा आफ्नो प्रभुत्व जमाउन सफल हुनुभएको हो । लेख्ने बानीको जति विकास हुन्छ त्यति नै लेखाइमा निखारता आउने गर्दछ ।’
किताब पढ्दा धेरै कुरा सिक्ने भएकाले विद्यार्थीलाई विद्यालयको कोर्षसँगै बाहिरी किताब किनिदिन उहाँले अभिभावकसँग आग्रह गर्नुभयो । भाषा, साहित्यलाई अभिन्न पाटोको रुपमा अगाडि बढाइरहेको नवोदय विद्यालयले कफी हाउस कार्यक्रममार्फत विद्यार्थीहरुलाई आफ्नो परिवेशमा रही रचना तयार पारी प्रस्तुत गर्ने अवसर प्रदान गरेकोमा उहाँले विद्यालयको प्रशंसा गर्नुभयो । विद्यार्थीहरुको पठन संस्कृतिको विकास गर्ने तथा भाषिक सीपको विकास गराउने मूल उद्देश्यले कार्यक्रमको आयोजना गरिएको नवोदय शिशु सदनका नेपाली विषयका सुपरिवेक्षक सिएम रिमालले जानकारी दिनुभयो ।
यसैगरी कक्षा ८ ‘क’ को कफी हाउस कार्यक्रमका प्रमुख अतिथि हेटौंडा क्याम्पसका प्राध्यापक तथा साहित्यकार मनोज पोखरेलले कफी हाउस कार्यक्रममा विद्यार्थीले प्रस्तुत गर्नुभएको रचना तारिफयोग्य रहेको बताउनुभयो । विद्यार्थीले किताबी ज्ञानलाई मात्र नभई सिर्जनात्मक र व्यवहारिक शिक्षालाई पनि जोड दिनुपर्ने उहाँले बताउनुभयो ।