परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईंले पत्रकार सम्मेलन मार्फत १० महिने कार्यकालको समिक्षा गर्नुहुँदै ।

हेटौंडाः बागमती प्रदेशको युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत्को प्रदेश युवा परिषद्को कार्यालयले आफ्नो १० महिने कार्यकालको समीक्षा गरेको छ । परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईंले बुधबार पत्रकार सम्मेलन गर्नुहुँदै १० महिने कार्यकालको समीक्षा गर्नुभएको हो ।

२०७८ साल असार ३ गतेदेखि प्रदेश युवा परिषद्को कार्यालयको जिम्मेवारी बहन गरी हालसम्म परिषद्ले गरेका कामहरुको बारेमा उपाध्यक्ष चौलागाईंले जानकारी गराउनुभएको छ । परिषद्ले अन्तर्राष्ट्रिय युवा दिवस साताव्यापी कार्यक्रम गरी भव्यरुपमा मनाइएको उहा“ले बताउनुभयो । कार्यक्रममा ४४ जनालाई सहभागी गराई महिलाहरुका निम्ति आत्मरक्षा तालिम दिइएको उहाँले उल्लेख गर्नुभयो ।

यसैगरी परिषद्ले चेलिबेटी बेचिबिखन, महिला हिंसा, जातीय तथा लैंगिक विभेदसम्बन्धी ३ सय ३० जनालाई तालिम दिएको छ । प्रदेश युवा परिषद् ऐन २०७६ को दफा ४ को उपदफा २ को कार्यान्वयका लागि लोगो तथा स्लोगन छनौटको काम गरेको उहाँले जानकारी दिनुभयो ।

परिषद्को वेवसाइटको निर्माण कार्य सम्पन्न भएको तथा परम्परागत सीपको संरक्षण र प्रवद्र्धनका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्न आवश्यक तयारी पूरा भइसकेको उपाध्यक्ष चौलागाईंले जानकारी दिनुभएको छ । परिषद्लाई क्रियाशील बनाउन आवश्यक योजना र नीति निर्माणको काम पनि अन्तिम चरणमा पुगेको उहाँले बताउनुभयो ।

‘स्वीकृत वार्षिक कार्यक्रमलाई सत्प्रतिशत सम्पन्न गर्ने गरी आवश्यक तयारी भइरहेको छ’, उपाध्यक्ष चौलागाईंले भन्नुभयो– ‘युवाहरुको नेतृत्व र क्षमता विकासका लागि सबै पालिकास“ग समन्वय गरी १० हजार जना युवालाई क्षमता विकास तालिम दिइनेछ ।’ बागमती प्रदेशका १ सय १९ स्थानीय तहमा प्रदेश सवयम्सेवक भर्ना गरी सामाजिक काममा लगाउने, चार वर्षभित्र कम्तीमा ५ हजार जनालाई पूर्ण रोजगार हुने गरी सीपमूलक तालिम चलाउने उहाँले दावी गर्नुभयो ।

प्रदेशभित्रका युवा वैज्ञानिक तथा स्थानीय तहलाई युवामैत्री स्थानीय तहको रुपमा विकास गरिने चालागाईंले जानकारी दिनुभयो । प्रदेशभित्रका युवा वैज्ञानिक तथा प्रतिभाहरुलाई सम्मान गरिने उहाँको भनाइ छ । वैज्ञानिक खोजलाई प्रोत्साहन दिन इनोभेसन र इन्कुभेसन सेन्टरको स्थापना गरिने बताइएको छ । यस्तै सबै वडामा वडास्तरीय युवा क्लब बनाउने र परिषद्लाई युवामैत्री तथा सूचना प्रविधिमैत्री र सुशासन प्रवद्र्धनको हवको रुपमा विकास गरी विभिन्न रणनीति तथा योजना निर्माण गरिएको उपाध्यक्ष चौलागाईंले बताउनुभयो ।