३८ वर्षीय बुबा गोपाल

हेटौंडाः हेटौंडा—१३ स्थित वनस्पतिमा बस्दै आउनुभएकी वर्षा नेपालीको बुबा विगत लामो समयदेखि रक्सीको लतमा फसेपछि अहिले सुधारगृहमा हुनुहुन्छ । हेटौंडा—९ मा रहेको सिआन पुनस्र्थापना केन्द्रमा गत असार ८ गतेदेखि सुधारका लागि बुबालाई राखिएको वर्षाले बताउनुभयो ।

रक्सी खाएपछि बुबाले छरछिमेकमा हल्ला गर्ने र जहाँपनि सुत्ने गरेपछि सुधारका लागि राखिएको उहाँले जानकारी दिनुभयो । घरको जिम्मेवारी वहन गर्नुपर्ने मुख्य अभिभावक नै पुनस्र्थापना केन्द्रमा रहेपछि वर्षाको परिवारमा आर्थिक समस्या परेको छ । आमा सुमित्रा दर्जीले दैनिक ज्यला मजदुरी काम गर्दै आफ्ना चार सन्तानको पालनपोषण र पढाइ खर्च धान्दै आइरहेको भए पनि सुधारगृहमा रहेका बाबुको खर्च धान्न नसकेपछि वर्षाले सहयोगका लागि अपिल गर्नुभएको हो ।

‘आमाले मजदुरी गरेर हामीलाई पढाउने र विहान बेलुकाको छाक टार्नलाई समेत समस्या हुने गर्दछ’, वर्षाले भन्नुभयो– ‘बुबाको पनि महिनावारी शुल्क ६ हजार रुपैयाँ सिआन पुनस्र्थापना केन्द्रमा तिर्नुपर्ने हुन्छ । त्यो पैसा तिर्नलाई गाह्रो भएकाले सहयोगीदातालाई सहयोगका लागि अपिल गरेका हौं ।’ केही वर्ष बुबालाई पुनस्र्थापना केन्द्रमै राख्नुपर्ने भएकाले सहयोगको अपिल गरेको वर्षाले बताउनुभएको छ ।

३८ वर्षीय बुबा गोपाललाई पुनस्र्थापना केन्द्रमा पैसा तिर्न नसकेपछि केही महिनाअघि घरमा ल्याइएको उहाँको भनाई छ । ‘फेरि पहिलाजस्तै व्यावहार गर्ने र रगत छाद्ने गरेपछि एक महिनाअघि पुनस्र्थापना केन्द्रमै लगेर राखिएको छ’, वर्षाले भन्नुभयो– ‘महिनाको करिब १२ हजार रुपैयाँ लाग्ने भए पनि केन्द्रले ६ हजार रुपैयाँ भने मिनाहा गरिदिएको छ ।’ बुबाकै कारण छोराछोरीलाई समेत छिमेकीले नराम्रो दृष्टिकोणबाट व्यवहार गरेपछि बुबालाई सुधार केन्द्रमा राखिएको वर्षाले उल्लेख गर्नुभयो । पुनस्र्थापना केन्द्रको पैसामात्र तिर्न नपरे पनि घरपरिवार चलाउन अलि सहज हुने उहाँले बताउनुभयो ।

‘कहीँबाट पैसा आउने ठाउँ छैन । सुकुम्बासी छौं । त्यसमाथि ऋण छ’, वर्षाले दुःखेसो पोख्दै भन्नुभयो– ‘बुबाको महिनाबारी पुनस्र्थापना केन्द्रमा तिर्नुपर्ने पैसा जोहो गर्नै गाह्रो भयो ।’ दुई भाइ, एक बहिनी र आफू पढिरहेको उहाँले जानकारी गराउनुभयो । आफ्नो र बहिनीको शैक्षिक शुल्क पनि आधा महिनाको छुट गरिएको बताउँदै दुई भाइको पढाइ शुल्क तथा कपी, कलम र परीक्षा शुल्क तिर्न जसोतसो टारेको उहाँको भनाइ छ । बहिनी अप्सरा ११ कक्षामा प्रगाति माविमा अध्ययनरत हुनुहुन्छ भने भाइहरु सम्पूर्ण कक्षा ६ र अनमोल कक्षा ४ मा युगचेतना नमुना आधारभूत विद्यालयमा अध्ययनरत छन् ।