१. साहित्यिक विधाहरु भन्ने बित्तिकै कविता, कथा, नाटक,उपन्यास, लेख, निवन्ध, जीवनी, संस्मरणका अनेकौ. विभाग तथा शाखाहरुका किताबहरु भन्ने बुझिन्छ । यी मध्ये अन्तर्वाता कमैमा पाईन्छ । अझ एउटा किताबमा धेरै ब्यक्तिको अन्तर्वाता समेटिएको किताब झनै कम पाईन्छ । अन्तर्वातामा लेखकले आफ्रनो धारणा प्रश्न सोध्दा मात्र प्रस्तुत गर्दा अपर्याप्त लागेर हुन सक्छ ,भूमिकामा नै बिस्तृत जानकारी दिने प्रयत्न गरिएको पाईन्छ । हरेक खाद्य परिकारका भिन्न स्वाद भए जस्तै साहित्यमा पनि प्रत्येक विधाका आआफ्नै स्वाद हुनु अन्यथा होईन । उदय अधिकारी सरलाई चितवन र मकवानपुरमा मात्र नभै देशकै साहित्यिक भिडमा समेत सहजै पहिचान कायम गर्नुभएका एक अध्ययनशील र श्रृजनशील ब्यक्तित्व भन्नै पर्दछ । ब्यक्तिहरुको चित्र पहिचान र सामिप्यता भन्दा पनि चरित्रमा निकटताले भिन्न सम्वन्ध स्थापित गर्ने नै छ । यस आलेखमा उनै उदय सरको छ जना आदरणीय साहित्यिक महारथीहरुलाई “प्रश्न ” मा समेटेर एकै किताबमा राष्ट्रिय अन्तराष्ट्रिय पहिचान कायम गरेका श्रष्टाहरुका विचार जान्ने अवसर प्रदान गर्ने महत्वपूर्ण कामलाई थोरै उजागर गर्ने प्रयत्न गरिएको छ ।
२. प्राध्यापक अभि सुवेदी सर त्रिभुवन विश्वविद्यालय अंग्रेजी विभाग र नेपालको साहित्यिक बगैंचाको जिम्मेवार र सुगन्धित फूलको अतिरिक्त विश्व साहित्य आकाशमा समेत आकर्षक र उल्लेख्य पहिचान बनाउनुभएको तथ्यमा कसैको बिमति छैन । उदय सरले ३६ वटा प्रश्नहरु मार्फत अभि सरको साहित्यिक र चित्रकला अनि सांगितिक संगै अनुवादक सहित ब्यक्तिगत जीवनलाई समेत वहाँकै भनाईबाट बाहिर ल्याउने काम गरेकाले हामी धेरैले केहि बुझ्ने महत्वपूर्ण अवसर पाएका छौं । “ जन्तरे दाजु र डेरिडा” भन्ने निबन्धबाट शुरु भएको अभि सरको साहित्यिक यात्रामा राजनीतिले भने खासै प्रभाव पार्न नसकेको बरु कलाकारिताले मोहनी लगाएको र अंग्रेजी साहित्यकारको नामले चिनिने कविमा गणना हुनु नै महत्वपूर्ण पक्ष भन्नै पर्दछ । तेह्रथुममा जन्मिएका अभि सरले सिद्धिचरण श्रेष्ठ ( काजी दाई) लाई सम पछि पाका कविको रुपमा भेटेको र मञ्जुललाई लगौंटे भन्दै भानुभक्त, मोतीराम, गोपालप्रसाद रिमाल,विजय मल्ल, लक्ष्मीप्रसाद देवकोटा,केदारमान ब्यथित, भुपी शेरचन, पारिजात,श्यामप्रसाद शर्मा, तारानाथ शर्मा, शंकर लामिछाने, इन्द्रबहादुर राई, इश्वर बराल,मोहन कोईराला लगायतका कविहरुका रचनाहरु मनपर्ने अनि सेक्सपियर,चेखब, ब्रेख्तका नाटकहरु फ्रेडरिक नित्से, सात्र्र, अर्नेष्ट हेमि¨वे, मार्खेज, कार्ल माक्र्स, हेगेल, लु सुन, रविन्द्रनाथ टैगोर लगायतकाको रचनाहरुबाट अकर्षित भएको धारणा राख्दै हाल आत्म कथा लेखिरहेको सन्देश पनि उक्त अन्तर्वातामा भन्नुभएको छ ।
३. प्रगतिशील लेखकको सूचीमा अग्रपंक्तिका कवि नारायण ढकालको कुनै न कुनै श्रृजना नपढ्ने ब्यक्ति साहित्यको आफन्त बन्नै सक्दैन । गाउँ विकास समितिको अध्यक्ष र जिविसको उपसभापति अनि सांसद समेतको पहिचान बनाएका नारायण सरलाई माक्र्सवादी भएकै कारणले प्रगतिशिल साहित्यप्रतिको झुकाव, मार्खेजको फ्रयान, श्यामल मनपर्ने कवि र गोर्की तथा लु सुन संगै दस्तोएवस्कीबाट धेरै सिकेको कुरा उदय सरका ३६ वटा प्रश्नहरु भित्रै पढ्न सकिन्छ । आत्महन्ता ,हजारीपालहरु, पीतसंवाद, दुर्भिक्ष, प्रेतकल्प, आदिका लेखक नारायण सर आफू माक्र्सवादी भएको तर सरकारी माक्र्सवादीप्रतिको घृणा तिखो रुपमा गर्न रुचाउने यी कवि नेपालीमा माधवी, लक्ष्मी निवन्ध संग्रह,त्यस बखतको नेपाल आदि अनि विदेशीमा द गड्स अफ स्मल थिङ्स,युद्ध र शान्ति, अपराध र दण्ड, पिता र पुत्र, अ फेरवेल टु आम्र्स, स्नो, अ म्यान अफ द पिपुल, वान हन्ड्रेड ईयर्स अफ सलिच्युड, आदि मनपर्ने श्रृजनाहरु भन्न भ्याउनु भएको छ । विचारमा स्पष्ट र ब्यवहारमा आत्मनिष्ठ देखिने नारायण ढकालको साहित्यिक योगदानबारे चर्चा गर्ने हो भने भिन्नै मोटो किताब तयार बन्ने नै छ ।
४. सरुभक्त झट्ट हेर्दा दार्शनिक जस्तो देखिने र साहित्यको सामान्य विद्यार्थीले पनि सहजै चिन्ने तर वास्तविक नाम भक्तराम श्रेष्ठ धेरैलाई जानकारी नभएको एक प्रयोगशील कविका रुपमा स्थापित ब्यक्तित्व भन्दा अत्युक्ति नहोला । उदय सरले १३ वटा प्रश्नहरु मार्फत सरुभक्तलाई बुझ्न थप सहज बनाएको प्रस्तुत “ प्रश्न” मा विजय मल्लको बौलाहा काजीबाट प्रभावित भएर शिशिरका अन्तिम दिनहरु नामको नाटक लेख्ने नाटककारले असिना पग्लन्छ भन्ने नाटकबाट प्रारम्भ गरेको साहित्यिक यात्रामा अहम् शुन्यवादको अवधारणाको विकास संगै पागलबस्ती, तरुनी खेती ,समय त्रासदी नामका उपन्यास सहित अनेकौं कविता, गजल, गित र मुक्तक लेख्नु भएको छ । परीक्षामा नबस्ने विद्यार्थीको पहिचान बनाएका सरुभक्त सेक्सपियर,बर्नाड शा, ईब्सेन, चेखब, बे्रख्त, सामुयल बेकेट, आयोनेस्को, थोर्टन उल्डर, आर्थर मिलर, पिरान्डेलो,लगायतकाको नाटक पढ्न रुची राख्ने साहित्यको बहुविधामा हस्तक्षेप गर्ने विरलै मध्ये एक कवि स्विकार्नै पर्दछ । प्रज्ञा प्रतिष्ठानको सदस्य बन्दा साहित्यकारहरु स्वतन्त्र नै रहनुपर्नेमा जोड दिएका सरुभक्तको रोजाईका पुस्तकहरुमा महाभारत, युद्ध र शान्ति, ह्याम्लेट, हिस्ट्री अफ वेस्टर्न फिलोसफी, दास क्यापिटल, गान्धीको आत्म कथा, रामायण, मुनामदन, आदि परेका छन् ।
५. हरिहर अधिकारी भन्दा कमैले चिन्ने तर नेपाली साहित्यमा सशक्त कविको रुपमा श्यामलको नामले भिन्न पहिचान कायम गरेको भेटिन्छ । भानुभक्त, लेखनाथ, देवकोटा, रिमाल, भूपी जस्ता साहित्यकारहरुका रचनाबाट आकर्षित श्यामल छन्दोबद्ध कविताका अतिरिक्त निवन्ध, उपन्यास, चित्रकला र अनुवादमा सहजै देख्न सकिन्छ । एपिक थिएटरको अवधारणा ल्याउने नाजी जर्मनीका विरुद्ध संघर्ष र विश्वासका कवि ब्रेख्तका कविताहरु अनुवाद गरेर प्रगतिशील कविको रुपमा स्थापित ब्यक्ति श्यामललाई उदय सरले प्रस्तुत किताबमा १५वटा प्रश्नहरु मार्फत गहिरोगरि खोतल्ने प्रयत्न गरेको देखिन्छ । प्रगतिशील साहित्यलाई नेता वा दल विशेषको कमारोको घेराबाट बाहिरिएर बुझ्न पर्छ भन्ने सन्देश सहित थोत्रो च्यातिएको बिदेशी कम्बलले यहाँको बौद्धिक जाडो छल्ने संस्कारको तिखो आलोचक श्यामल वैचारिक रुपले सतिसाल झैं उभिने कवि भन्दा बिमति नहोला । कालीदास, मार्खेज, गोर्की, सेक्सपियर, लु सुन, टाल्सटाय, नाजिम हिक्मत, एलेन गिन्स्वर्ग, चेखव, पामुक,मण्डेला,लगायतका विश्व प्रशिद्ध कविहरुका रचनाका अतिरिक्त नेपालका थुप्रै कविहरुका श्रृजनालाई मनपराउने श्यामल माक्र्सवादी विद्यार्थीको अतिरिक्त आफुलाई स्वतन्त्र कवि भन्न रुचाउनुहुन्छ ।
६. कविताबाटै साहित्यिक यात्रा शुरु गरेपनि गीतकारको पहिचान बनाएका श्रवण मुकारुङलाई आफ्नैपनको सरलता रुचाउने संघर्षशील कवि भनिन्छ । हेपिएका र उपेक्षितहरु जस्तै बिसे नगर्चीको बयान ,राम भरोस आफ्रनो अनुहार खोजिरहे छ,जस्ता कृति मार्फत कमलरीहरु समेतको भावनालाई उजागर गर्न रुचाउने श्रवण मुकारुङलाई “प्रश्न” मा २९ वटा प्रश्नहरुबाट उदय सरले कविको निजि तथा साहित्यिक जिवन सक्दो बाहिर ल्याउने प्रयत्नलाई प्रशंशा गर्नै पर्दछ । खासगरी जाति, भाषा, धर्म, वर्ण, लि¨, भूगोल, राजनीतिका पृष्ठभूमीमा हुनेगरेका तमाम विभेदका विरुद्धमा उभिदैं पहिचानका मुद्धामा सजग देखिने कवि श्रवणले यलम्वर, देश खोज्दै जाँदा, कविता संग्रहका अतिरिक्त धेरै त गीतहरु श्रृजना गरेका छन् । प्रज्ञा प्रतिष्ठानको प्राज्ञ सभामा लगेर समोसा प्राज्ञकै रुपमा थन्क्याएको सबाललाई मौन समर्थन गर्ने कवि श्रवण अग्रज श्रष्टाहरु मोहन कोईराला, वैरागी काँईला, गोपालप्रसाद रिमाल, भूपी शेरचन, सहित विप्लव ढकाल,रमेश पौडेल, नविन सुब्बा, रमेश के.सी., अनुप बराल, शान्तिराम राई, उपेन्द्र सुब्बा, रक्षा राई, तीर्थ संगम, धर्मेन्द् विक्रम नेम्वाङ, राजन मुकारुङ आदि कविहरुका रचनाहरु उत्कृष्ट भएको दावी गर्नुहुन्छ ।
७. मनु मञ्जिलको नाम नेपाली साहित्यमा चिनाईरहनु पर्ने ब्यक्ति होईन । भी. एस. नईपल, सेक्सपियर, इलियट,वाल्ट ह्विटम्यान, लु सुन, मार्खेज, मार्टिन लुथर कि¨, अर्नेष्ट हेमि¨ वे, देवकोटा, भूपी, वैरागी काँईला, रिमाल, अचेवे, डी.एच. लरेन्स, रबर्ट फ्रस्ट आदि कविका रचनाहरु रुचीका साथ अध्ययन गर्ने मनु आफैंमा कविता, कथा, उपन्यासका रचनाकार सहित अंग्रेजी साहित्यका अनुवादकको रुपमा महत्वपूर्ण ब्यक्तित्व भन्नै पर्दछ । अलग बाटो नहिंडे फरक आउँदैंन भन्ने मनु गरिब बसाईं सरे पनि पुग्ने अर्को झुपडिमा हो भन्दै साहित्यिक विधाहरुको गहिरो अध्ययनको अभावप्रति चिन्तित देखिनुहुने कविलाई २४ वटा प्रश्नहरु मार्फत आम पाठकहरुका माझमा सहज प्रवेश गराउने कामको प्रशंशा गर्नै पर्दछ ।
अन्तमा, प्रस्तुत अन्तर्वाताको सँगालो “ प्रश्न” मा उदय अधिकारी सरको छनौटका साहित्यिक शिर्ष ब्यक्तित्वहरु संगको सबाल जवाफ पढिरहुँ लाग्ने मात्र हैन, आफ्नो रुचीका कवि र उनहिरुका रचनाका बारेमा सम्वन्धित कविहरुको रोजाईका जवाफले सय भन्दा बढि अन्तर्राष्ट्रियस्तरका ख्यातिप्राप्त कविहरुको नाम र उनीहरुका श्रृजनाको सार समेत थाहा पाउने अवसर यो किताबको अर्को महत्वपूर्ण उपलब्धि भन्नै पर्दछ । आगामी दिनमा थप साहित्यिक रथि, महारथिहरुलाई अझ तिखा सबाल जवाफहरुमा भेट्न पाईयोस भन्ने अपेक्षा सहित उदय सरको यो यात्राको सफलताको कामना गर्दछु ।