हेटौंडाः विपन्न परिवारलाई सिविन बाल हेल्पलाइन हेटौंडाले खाद्यान्न सहयोग गरेको छ । हेटौंडा–११, नमुनाचोकमा बस्दै आएका विपन्न परिवारलाई बाल हेल्पलाइनका संयोजक झविन्द्र ज्ञवालीले सोमबार सहयोग हस्तान्तरण गर्नुभएको हो । ५० किलो चामल, ४ लिटर खानेतेल, ४ प्याकेट नुन, २ किलो दाल, २ किलो चना, २ किलो केराउ सहयोग गरेको छ ।
सिविनले नुहाउने साबुन ६ वटा, दुई प्याकेट मास्क पनि सहयोग गरेको छ । चार बालबालिकालाई ट्रयाकसुट गरी ११ हजार रुपैयाँ बराबरको खाद्यान्न तथा लत्ताकपडा सहयोग गरेको हो । सिविन बालहेल्पलाइनका कार्यक्रम संयोजक ज्ञवालीले बालबालिकाका लागि स्वास्थ्य र शिक्षामा सहयोग गरिने बताउनुभएको छ । एकजना बालक र दुई जना बालिकालाई भने फागुन १ गतेदेखि विद्यालय खुल्नासात पढ्नका लागि पहल गरिने उहाँको भनाइ छ ।
अभिभावक नै आफ्ना बालबालिकाप्रति जिम्मेवार बन्न नसक्दा बजारमा बालबालिका समेत मागेरै गुजारा गर्नुपर्ने स्थिति सिर्जना भएको ज्ञवालीको भनाइ छ । अगामी दिनमा बालबालिका सडकमा आउन नदिनका निम्ति सिविनले निगरानी राख्ने र स्थानीय सरकारलाई समेत पहल गरिने उल्लेख गर्नुभयो ।











