हेटौंडाः मकवानपुर प्रहरीले ठूलो परिमाणमा लागुऔषध खेती नष्ट गरेको छ । प्रहरीको संयुक्त टोलीले जिल्लाका कैलाश र राक्सिराङ गाउँपालिकामा लगाइएको लागुऔषध खेती नष्ट गरेको हो ।
शुक्रबार, शनिबार र आइतबार तीन दिनको अवधिमा यत्ति धेरै क्षेत्रफलमा लागुऔषध खेती नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । लागुऔषध व्यूरो कोटेश्वर, बागमती प्रदेश दंगा नियन्त्रण प्रहरी गण हेटौंडा र जिल्ला प्रहरी कार्यालय मकवानपुरको संयुक्त टोलीका ५० जना राक्सिराङ गाउँपालिकामा खटिएका थिए ।

यस्तै लागुऔषध व्यूरो कोटेश्वर, बागमती प्रदेश सशस्त्र प्रहरी गण रातोमाटे र जिल्ला प्रहरी कार्यालय मकवानपुरको संयुक्त टोलीका ५० जना कैलाश गाउँपालिकामा खटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । राक्सिराङ र कैलाश गाउँपालिकामा अन्दाजी २९ बिगाह १० कठ्ठा अवैध लागुऔषध गाँजा, २१ बिगाह अफिम खेती फडानी गरी नष्ट गर्नुका साथै २ सय किलो सुकाई राखेको गाँजा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।











