हेटौंडाः विभिन्न राजनीतिक आन्दोलनमा सहादत प्राप्त गरेर देश र जनताको अधिकारका लागि जीवन आहुति दिने शहीदहरुको सम्झनामा आज देशभर शहीद दिवस मनाइँदैछ । जहानियाँ राणाशासनको विरुद्धमा लागेको आरोपमा मृत्युवरण गरेका वीर शहीदहरुको सम्झनामा हरेक वर्ष माघ १६ गते शहीद दिवस मनाउने गरिन्छ ।
शहीदहरुको योगदानको स्मरण गरी उनीहरुप्रति सम्मान व्यक्त गर्नका लागि हरेक वर्ष माघ १० देखि १६ गतेसम्मलाई शहीद सप्ताहको रुपमा पनि मनाउने गरिएको छ । राणाशासनको विरुद्धमा लडेका शहीद धर्मभक्त माथेमा, दशरथ चन्द, गंगालाल श्रेष्ठ, शुक्रराज शास्त्रीलगायतको सम्झनामा शहीद दिवस मनाउन थालिएको भए पनि यस अवसरमा सबै ज्ञात अज्ञात शहीदको योगदानको स्मरण गर्ने गरिन्छ ।
विक्रम सम्वत् १९९७ सालमा तत्कालीन राणा शासकहरुले नागरिक स्वतन्त्रताको माग गरेको भन्दै स्वतन्त्रता आन्दोलनका अगुवाहरुलाई मृत्युदण्ड दिएको थियो । शहीद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौंको टेकुस्थित पचलीमा, धर्मभक्त माथेमालाई माघ १३ गते सिफलमा तथा गंगालाल श्रेष्ठ एवम् दशरथ चन्द ठकुरीलाई माघ १५ गते शोभाभगवतीमा झुण्ड्याएर मृत्युदण्ड दिएको थियो ।
शहीद दिवसका अवसरमा राष्ट्रपति, उराष्ट्रपति र प्रधानमन्त्री, प्रदेश प्रमुख, मुख्यमन्त्रीलगायत राज्यका विशिष्ट व्यक्तिहरुले शहीदप्रति सम्मान व्यक्त गर्दै सन्देश जारी गर्ने गरिएको छ । विगतमा शहीद दिवसका अवसरमा देशका विभिन्न भागमा रहेका शहीदहरुको शालिकमा माल्यार्पण तथा श्रद्धाञ्जली व्यक्त गर्ने गरिएको भए पनि कोभिड–१९ संक्रमणको जोखिमका कारण यसवर्ष औपचारिक कार्यक्रम हुनेछैन ।