हेटौंडाः गत पुसको अन्तिम साताबाट बन्द रहेका मकवानपुरका विद्यालय आज आइतबारबाट खुल्दैछ । कोभिड–१९ संक्रमणको जोखिम बढेपछि बन्द गरिएका विद्यालयहरु विद्यार्थीलाई खोप लगाउने प्रयोजनका लागि आजबाट खुल्ने भएका हुन् ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज आइतबारबाट २० गतेसम्म विद्यालय खोल्न निर्देशन दिएसँगै विद्यालय खुला हुने भएको छ । कोभिड–१९ को संक्रमणका कारण बन्द भएका विद्यालयका खोप लगाउन बाँकी विद्यार्थीलाई अभियानको रुपमा खोप दिन विद्यालय खुला गर्न लागिएको हो ।
सरकारले खोप कार्यक्रमअन्तर्गत् विद्यालय खोल्न निर्देशन दिएसँगै उपमहानगरभित्रका विद्यालय खुला हुने शिक्षा विकास महाशाखा हेटौंडाका अधिकृत रामचन्द्र खड्काले जानकारी दिनुभयो । कोरोनाकै कारण बिरामी भएका तथा अन्य कारणले छुटपुट हुन पुगेका विद्यार्थीको तथ्यांक संकलन गरिने उहाँले बताउनुभयो । कुनकुन वडाका कति विद्यार्थी छुटे, ती विद्यार्थीलाई वडावडाका स्वास्थ्य इकाईबाट खोप लगाउन पहल गरिने खड्काले उल्लेख गर्नुभयो ।
विद्यार्थी संख्याको आधारमा पठनपाठन पनि सुचारु गर्ने वा नगर्ने सम्बन्धित विद्यालयले निर्णय गर्ने उहाँको भनाई छ । उपमहानगरभित्रका विद्यालयहरुले वैकल्पिक शिक्षण सिकाई अगाडि बढाइरहेको अवस्था छ । त्यसैले आंशिक मात्रामा विद्यालयमा पठनपाठनलाई समेत सुचारु गर्ने सम्भावना रहेको उहाँले जानकारी दिनुभयो । विद्यालय खुला भएको अवसरमा दिइएको गृहकार्यलाई परीक्षण गरिने तथा फेरि बन्द अविधि भरका लागि गृहकार्य दिइने कार्य विद्यालयले गर्ने खड्काले बताउनुभयो ।
यसैगरी मनहरी गाउँपालिकामा भने माघ मसान्तसम्म नै विद्यालय बन्द हुने मनहरीका शिक्षा शाखा प्रमुख हरिचन्द्र सापकोटाले बताउनुभयो । मकवानपुरगढी गाउँपालिकामा पनि विद्यालय २० गतेसम्म खुला हुने भएको छ । वार्षिक बिदाबाट कट्टा हुने गरी १५ गतेसम्म विद्यालय बन्द भएको थियो । खोप अभियानलाई प्रभावकारीसँगै विद्यालयले पठनपाठनलाई पनि निरन्तरता दिइने मकवानपुरगढी शिक्षा शाखा प्रमुख राम घलानले बताउनुभयो । ईन्द्रसरोवर गाउँपालिकाका विद्यालयहरु पनि खुला हुने गाउँपालिका शिक्षा शाखा प्रमुख धर्मनन्द पन्तले जानकारी दिनुभयो ।
हेटौंडा उपमहानगरमा ४६ वटा संस्थागत र ७६ वटा सामुदायिक विद्यालय रहेका छन् । मनहरीमा भने ५२ वटा सामुदायिक र ८ वटा संस्थागत विद्यालय रहेका छन्, जसमा करिब १० हजार विद्यार्थी अध्ययनरत छन् । मकवानपुरगढी गाउँपालिकामा ३९ वटा सामुदायिक र एक निजी विद्यालय रहेका छन्, जसमा करिब ६ हजार विद्यार्थी अध्ययनरत छन् । यसैगरी ईन्द्रसरोवर गाउँपालिकामा २१ वटामात्र सामुदायिक विद्यालय छन् भने ३ हजार २ सय विद्यार्थी अध्ययनरत छन् ।
विद्यालय खुलेपछि हालसम्म खोप लगाएका विद्यार्थीहरुको नामनामेसीसहितको विवरण अध्यावधिक हुनेछ । यसैगरी स्थानीय तहसँगको समन्वयमा स्वास्थ्य चौकीमा सम्पर्क गरी तोकिएको उमेर समूहका कोही पनि नछुट्ने गरी विद्यालय खुला भएको अवधिभित्रै खोप लगाइने बताइएको छ । जसअनुसार विद्यालयले खोप लगाउन बाँकी विद्यार्थीको खोप लगाएको सुनिश्तित गरिनेछ ।