हेटौंडाः मकवानपुर जिल्ला क्रिकेट संघको आयोजनामा शुक्रबार मकवानपुर र कलैया क्रिकेट एकेडेमीबीच मैत्रीपूर्ण क्रिकेट भएको छ । हेटौंडाको हुप्रचौर भएको खेलमा मकवानपुर कलैयासँग ३० रनले पराजित भएको हो ।
१८२ रनको लक्ष्य पछ्याएको मकवानपुर २७ ओभर १ बलमा १ सय ५१ रन मात्र बनाएर अलआउट हुन पुग्यो । मकवानपुरका लागि गौरव खड्काले सर्वाधिक ४४ रन बनाए । यस्तै रिजन ढकालले २५ रन, सुमन सुनारले १७ रन र सुवर्ण भट्टले १३ रन बनाउँदै पेभेलियन फर्किदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । कलैयालाई उत्कृष्ट जीत दिलाउनका लागि अरनिको यादवले ६ ओभर बलिङ गर्दै ४ विकेट हात पारे । कलैयाकै रोहन यादवले ४ आभर बलिङ गरेर २ विकेट लिए ।
यसअघि टस हारेर सुरुवाती व्याटिङको निम्तो पाएको कलैयाले निर्धारित ३० ओभरमा ७ विकेट गुमाएर १ सय ८१ रन बनाएको थियो । कलैयाका लागि अरनिको यादवले सर्वाधिक ८४ रन बनाए । कलैयाकै निरज यादवले ३२ रन र अनिल साहले २० रन बनाए भने अन्य व्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । मकवानपुरका बलर रिजन ढकाल र कप्तान रामनरेश गिरीले समान ६ ओभर बलिङ गर्दै १/१ ओभर मेडन राख्दै २/२ विकेट लिए । प्लेयर अफ दि म्याच कलैयाका अरनिको यादव घोषित भए ।
खेलाडीहरुलाई नियमित प्रशिक्षणसँगै हौसल बढाउन मैत्रीपूर्ण खेलको आयोजना गरिएको बागमती प्रादेश क्रिकेट संघका उपाध्यक्ष प्रेम क्षेत्रीले जानकारी दिनुभयो । आगामी शुक्रबार पनि बीरगंज अथवा चितवनको टोली बोलाएर मैत्रीपूर्ण खेल खेलाइने उहाँको भनाई छ । प्रतियोगिताको सम्पुर्ण व्यवस्थापन मकवानपुर जिल्ला क्रिकेट संघले विभिन्न दाताहरुको सहयोगमा गरिरहेको छ । शुक्रबार सम्पन्न प्रतियोगितामा भ्रमण टोली कलैयालाई खानाको व्यवस्थाको लागि रवि थापाले सहयोग गर्नुभएको र खेलाडीहरुलाई डाइटका लागि जुसको व्यवस्था हेटौंडा–९ का विवेक दाहालले गर्नुभएको संघले जनाएको छ ।