हेटौंडाः सिविन नेपालद्वारा सञ्चालित बाल हेल्पलाइन मकवानपुरले बालबालिकालाई छात्रवृत्तिसहित स्टेशनरी सामग्री सहयोग गरेको छ । सिविनले बिहीबार विद्यालयमा अध्ययनरत १० जना बालबालिकालाई छात्रवृत्ति र स्टेशनरी सामग्री सहयोग गरेको सिविन मकवानपुरका संयोजक झविन्द्र ज्ञवालीले जानकारी दिनुभयो ।
हेटौंडां—४ स्थित भूटनदेवी माविमा अध्ययनरत ४ जना विद्यार्थीलाई ५-५ हजार शैक्षिक शुल्कसहित ड्रेस, ब्याग र स्टेशनरी सामग्री सहयोग गरिएको छ । कक्षा १२ मा अध्ययनरत अस्मिना उप्रेती, कक्षा ११ मा अध्ययनरत बलिराम साह, साक्षी वर्णवाल र अस्मिन उप्रेतीलाई सहयोग गरिएको छ ।
यसैगरी मनहरी-७ स्थित राष्ट्रिय रोटरी माविमा अध्ययनरत ६ जनालाई शैक्षिक सामग्री सहयोग गरिएको छ । कक्षा १० का सनिला सुनवार र अजय घिसिङ, कक्षा ९ का बिमला बुढाथोकी, कक्षा ८ का अल्फा परियार, कक्षा ६ का लक्ष्मी रुम्बा र ऋतु गुरुङलाई शैक्षिक सामग्री सहयोग गरिएको हो ।
कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीका लागि १० हजार रुपैयाँ बराबरको छात्रवृत्ति तथा स्टेशनरी सामग्री सहयोग गरिएको ज्ञवालीले बताउनुभयो । कक्षा १० सम्मका विद्यार्थीलाई भने ४ हजार रुपैयाँ बराबर रकमको शैक्षिक सामग्री सहयोग गरिएको उहाँले जानकारी दिनुभयो ।
यसैगरी आज शुक्रबार मनहरी गाउँपालिकाको हाँडीखोलास्थित पशुपतिनाथ माविका ५ जना विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरिने संयोजक ज्ञवालीले जानकारी दिनुभएको छ । पशुपतिनाथ माविमा अध्ययनरत कक्षा ७ का मिलन थिङ र सरस्वती थोकर, कक्षा ८ का पूर्णिमा मोक्तान र कञ्जन कार्की तथा कक्षा ९ का रञ्वित प्रजालाई सहयोग गरिने उहाँले बताउनुभयो ।
सिविनले आर्थिक वर्ष २०७८-७९ सालमा एक हजार बालबालिकालाई छात्रवृत्ति तथा शैक्षिक सामग्री सहयोग गर्ने भएको छ । बालश्रम तथा बालविवाह न्यूनीकरणमा सहयोग पुर्याउने उद्देश्यले कक्षा १ देखि १२ सम्म अध्ययनरत बालबालिकालाई शैक्षिक सामग्री सहयोग गरिँदै आइरहेको छ । पछिल्लो समय आर्थिक विपन्न परिवारका बालबालिका श्रममा संग्लन तथा बालविवाह गर्न बाध्य हुने कुरालाई मध्यनजर गर्दै सहयोग गरिएको ज्ञवालीको भनाइ छ । बालश्रममा संग्लन हुने र बालविवाह गर्ने सम्भावना भएको परिवारका बालबालिकालाई शैक्षिक सामग्री सहयोग गरिएको बताइएको छ ।