हेटौंडा–५ पिप्लेस्थित निर्माणधिन क्याम्पा रंगशाला ।

हेटौंडाः पिप्ले युवा क्लबको अग्रसरतामा हेटौंडा–५ स्थित क्याम्पा मिनी रंगशालामा प्यारापिट निर्माणको काम अन्तिम चरणमा पुगेको छ । ४ हजार दर्शक क्षमताको सिमेन्टको प्यारापिटको फिनिसिङको काम भइरहेको क्लबले जनाएको छ ।

बागमती प्रदेश सरकार र हेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा निर्माण भइरहेको क्याम्पा रंगशालालाई जनस्तरबाट समेत उत्तिकै सहयोग प्राप्त भइरहेको छ । सुरुवातदेखि नै जनस्तरबाट सहयोग मिलेको रंगशाला निर्माणमा पछिल्लो समय अधिकांश पूर्वखेलाडीहरुले सहयोग प्रदान गरेका छन् । पछिल्लो एक महिनामा विभिन्न खेलका ८ जना पूर्वखेलाडीहरु तथा प्रशिक्षकहरुले रंगशाला निर्माण गर्न नगदसहित सिमेन्ट तथा बालुवा सहयोग गरेका छन् । एक महिनाको अवधिमा रंगशालालाई जनस्तरबाट ९९ हजार ७ सय ५९ रुपैयाँ नगदसहित ७५ बोरा सिमेन्ट, २ ट्रयाक्टर बालुवा तथा ६० लिटर रङ र १ सय लिटर इनामेल रङ सहयोग प्राप्त भएको पिप्ले युवा क्लबका अध्यक्ष सुशील घिमिरेले जानकारी दिनुभएको छ ।

प्राप्त सहयोगमध्ये ४८ हजार ५ सय ४४ रुपैयाँ नगदसहित १५ बोरा सिमेन्ट र २ ट्रयाक्टर बालुवा पूर्वखेलाडीहरु तथा प्रशिक्षकहरुबाट नै प्राप्त भएको छ । रंगशाल निर्माणका लागि पिप्ले युवा क्लबका पूर्वफुटबल खेलाडी राजु ढकालले १४ हजार रुपैयाँ बराबरको २ ट्रयाक्टर बालुवा सहयोग प्रदान गर्नुभएको छ । उहाँ मकवानपुर जिल्ला पुरुष क्रिकेट टिमका कप्तान रिजन ढकालको बुवा हुनुहुन्छ । यसैगरी पिप्ले युवा क्लबकै पूर्वफुटबल खेलाडी दाजुभाइद्वय राकेश-रोशन थापा मगरले आफ्नो बुवा बुद्धिबहादुर थापा मगरको हातबाट १० हजार रुपैयाँ प्रदान गर्नुभएको क्लबले जनाएको छ ।

क्लबका अर्का पूर्वखेलाडी युवराज चौलागाईले पनि १० हजार रुपैयाँ, क्लबका पूर्वकप्तान तथा एपीएफ क्लबका प्रशिक्षक श्यामकुमार पौडेलले ५ हजार रुपैयाँ रंगशाला निर्माणका लागि क्लबका अध्यक्ष घिमिरेलाई प्रदान गर्नुभएको छ । यसै अवधिमा कराते खेलकी पूर्वखेलाडी तथा प्रशिक्षक पार्वती गिरीले पनि रंगशालाका लागि १० हजार १ सय रुपैयाँ, करातेकै पूर्वखेलाडी सुरेन्द्र श्रेष्ठले ५ हजार रुपैयाँ प्रदान गर्नुभएको छ । यस्तै जुनियर बक्सिङ प्रतियोगितामा रजत पदक बिजेता हुन सफल खेलाडी, हाल बेलायतमा अध्ययनरत रहनुभएका सागर ढुङ्गेलले ८ हजार ४ सय ४४ रुपैयाँ तथा हेटौंडा–३ लेवट डोजो र बसामाडी डोजोका कराते प्रशिक्षक शिवराज खनालले १५ बोरा सिमेन्ट सहयोग प्रदान गर्नुभएको पनि पिप्ले युवा क्लबका अध्यक्ष सुशील घिमिरेले जानकारी दिनुभयो ।

यस्तै हेटौंडा–९ का व्यवसायी सुमन अर्यालको पहलमा रंगशालालाई ६० बोरा सिमेन्ट सहयोग मिलेको छ । जसमा सुमन अर्यालले १५ बोरा, सिद्धार्थ शिशु सदनका सञ्चालक उपेन्द्र सुवेदीले २० बोरा, सुदर्शन सुवेदीले १५ बोरा र नेपोलियन हेयर एण्ड ब्युटी एकेडेमीका सञ्चालक किरण अधिकारीले १० बोरा सिमेन्ट संयुक्तरुपमा सहयोग गर्नुभएको क्लबले जनाएको छ । रंगशाला निर्माणकै लागि प्रकाश श्रेष्ठबाट ५ हजार ५ सय ५५ रुपैयाँ, शिव श्रेष्ठबाट ५ हजार ५० रुपैयाँ, सुगम श्रेष्ठ र रोशन श्रेष्ठबाट ५-५ हजार रुपैयाँ गरी ४ दाजुभाइबाट कुल २० हजार ६ सय ५ रुपैयाँ सहयोग मिलेको क्लबका अध्यक्ष घिमिरेले बताउनुभयो ।

रंगशालालाई रितेश ठाकुरले १० हजार रुपैयाँ, जन्मदिनको अवसरमा सोफिन जंग कुँवरले ५ हजार ५ सय ५५ रुपैयाँ, किरण घिमिरेले ५ हजार ५५ रुपैयाँ प्रदान गर्नुभएको छ । यसैगरी स्थानीय समल मानन्धरले आफ्नो बुवा सानु मानन्धरको हातबाट ५ हजार रुपैयाँ, अन्जनी पराजुली, हेटौंडा–५ घरभई हाल अमेरिकामा रहेका बिष्णु गौतम र संघर्ष मिश्रबाट ५-५ हजार रुपैयाँ सहयोग प्राप्त भएको जनाइएको छ । रंगशालामा निर्माण भइरहेको फलामे प्यारापिटसहित रंगशालामा रंगरोगन गर्नका लागि बर्जर पेन्टस्का स्टोर म्यानेजर बिष्णु चौलागाई र मार्केटिङ म्यानेजर प्रकाश बस्नेतबाट ६० लिटर रङ तथा कृष्ण कार्की र शंकर खड्काबाट क्रमशः ६० लिटर र ४० लिटर गरी १ सय लिटर इनामेल रङ प्राप्त भएको अध्यक्ष घिमिरेले बताउनुभएको छ ।

रंगशालामा अहिले सिमेन्टको प्यारापिटको खुड्किला बनाउने तथा फलामको प्यारापिटको काम अन्तिम चरणमा रहेको उहाँले जानकारी दिनुभएको छ । यस्तै हाल मैदानको वरिपरि तारबार गर्ने, चेन्जिङ रुम निर्माण गर्ने कामहरु पनि भइरहेको अध्यक्ष घिमिरेले बताउनुभयो । अबको दुई हप्ताभित्रमा प्यारापिटमा दर्शकहरु बस्न मिल्ने गरी तयार हुनेछ भने महिना दिनमा अन्य कामहरु पनि सकिने उहाँको भनाइ छ ।

मकवानपुरमै पहिलो स्तरीय रंगशाला निर्माण भइरहेको बताउनुहुँदै उहाँले रंगशाला निर्माणपछि मकवानपुरमा फुटबल प्रतियोगिताका लागि मैदान तथा प्यारापिटको चिन्ता गर्नुनपर्ने दाबी गर्नुभएको छ । हाल रंगशालामा निर्माण भइरहेको सिमेन्टको प्यारापिटमा करिब ४ हजार दर्शक साथै फलामको दुई प्यारापिटमा १-१ हजार गरी कुल ६ हजार दर्शकले प्यारापिटबाट फुटबल खेलको मनोरञ्जन लिन सक्नेछन् ।