हेटौंडाः राष्ट्रियसभा सदस्यको चुनावको मिति नजिकिँदै गर्दा चुनावको तयारी तिब्र भएको छ । माघ १२ गते हुने राष्ट्रियसभा सदस्य चुनावअन्तर्गत् बागमती प्रदेशबाट २ सदस्यका लागि हुने चुनावको तयारीमा निर्वाचन अधिकृतको कार्यालयले तयारी तिब्र पारेको जनाएको छ ।
हेटौंडा–८ स्थित औधोगिक क्षेत्र व्यवस्थापन लिमिटेडको कार्यालयमा १ महिला र १ अन्य पदमा राष्ट्रियसभा सदस्यका लागि हुने निर्वाचनको तयारी गर्न दुई मतदान स्थलका लागि दुई मतदान अधिकृतसमेत नियुक्त गरी निर्वाचन अधिकृतको कार्यालयबाट निर्वाचनको तयारी तिब्रताका साथ अगाडि बढेको प्रदेश निर्वाचन अधिकारी तथा सहायक निर्वाचन अधिकृत लुम्बनाथ पोखरेलले बताउनुभएको छ । बागमती प्रदेशका १ सय १९ स्थानीय तहका २ सय ३७ जना प्रमुख र उपप्रमुखहरुले मतदान गर्नका लागि एउटा र १ सय ९ जना प्रदेशसभा सदस्यहरुका लागि अर्को मतदान केन्द्र गरी दुई मतदान केन्द्र स्थापना हुनेछन् ।
उक्त दुई मतदान केन्द्रहरुका लागि दुई मतदान अधिकृतसहित ८-८ जना गरी १६ जना कर्मचारी खटाइने सहायक निर्वाचन अधिकृत पोखरेलले जानकारी दिनुभयो । छुट्टाछुट्टै मतदान केन्द्रसँगै मतपत्रको रङ पनि फरकफरक रहेको जनाइएको छ । राष्ट्रियसभा सदस्य पदको निर्वाचनमा स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुले गर्नुहुने मतको मतभार १८ र प्रदेशसभा सदस्यहरुले गर्नुहुने मतको मतभार ४८ रहेको पनि उहाँले बताउनुभयो । यस्तै कोभिड–१९ महामारीको कारणले गर्दा स्वास्थ्य सुरक्षामा केही चुनौती देखिएपनि यसको व्यवस्थापन र सुरक्षित साथ निर्वाचन सम्पन्न गर्नका लागि सुरक्षा मापदण्डसम्बन्धी २१ बुँदे नियमको अध्ययनमा रहेर निर्वाचन अधिकृत तथा जिल्ला अदालत मकवानपुरका प्रमुख न्यायाधीश डिल्लीरत्न श्रेष्ठको संयोजकत्वमा माघ ७ गते बसेको निर्वाचन व्यवस्थापन समितिको दोस्रो बैठकले ४ वटा कुरामा निर्णय गरेको उहाँले बताउनुभयो ।
उहाँका अनुसार राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदान गर्न आउने मतदाताहरुले कोरोनाविरुद्धको दुई मात्रा खोप लगाएको कार्ड ल्याउनुपर्ने, यदि कोही कोरोना संक्रमित भए वा लक्षण देखिए उहाँहरुलाई छुट्टै व्यवस्थापन गर्ने, यसका लागि जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले हेल्पडेस्क सहित २ जना स्वास्थ्यकर्मी खटाउने तयारी गरिएको छ । मतदानस्थलमा कोही कसैलाई स्वास्थ्य समस्या देखिएमा तुरुन्त अस्पताल लैजानका लागि एम्बुलेन्सको समेत व्यवस्था गर्ने निर्णय भएको पोखरेलले जानकारी दिनुभयो । चुनावको दिनको अवस्था हेरेर पनि थप कदम चालिने पनि उहाँले बताउनुभएको छ ।
चुनावमा मतदान गर्न आउनुहुने मतदाताहरुमध्ये केहीलाई कोरोना संक्रमण हुनसक्ने भएकाले उहाँहरुको लागि बेग्लै व्यवस्था गर्ने तयारी भएपनि निर्वाचन आयोगले मतदान केन्द्र बेग्लै बनाउन निर्देशन नदिएकाले संक्रमित मतदाताहरु पहिचान गरी उहाँहरुलाई सुरक्षित साथ मतदान गराउँदा अन्य मतदातालाई केही समय रोकेर भएपनि मतदान गराउन सकिने निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले बताउनुभयो । यदि केही थप समस्या नै पर्न गएमा उक्त निर्वाचन केन्द्रमा छुट्टै मतपेटिका राखेर भएपनि निर्वाचन सम्पन्न गरिने उहाँको भनाई छ । उहाँले तोकिएको निर्वाचनस्थल केही साँघुरो ठाउँ भएकाले भौतिक दुरी कायम गराउन असहज भएकाले उक्त स्थान नजिकै रहेको फुटबल मैदानलाई निर्वाचन केन्द्र बनाउने विषयमा पनि छलफल भइरहेको बताउनुभएको छ ।