हेटौंडाः ग्रामीण महिला सेवा केन्द्रले युवा सञ्जालका सदस्य र सामाजिक अगुवाबीच अन्तरसंवादको आयोजना गरेको छ । बुधबार केन्द्रको सभाकक्षमा आयोजित अन्तरसंवादमा सामाजिक अगुवाका रुपमा जनप्रतिनिधि, धार्मिक गुरु, पत्रकारको सहभागिता रहेको थियो । अन्तरसंवादमा प्रकाश खतिवडाले बालविवाह, महिनावारी स्वच्छता र हानिकारक अभ्यास, यौन तथा प्रजनन् स्वास्थ्य अधिकार र लैंगिक समानतासम्बन्धमा अवधारणा प्रस्तुत गर्नुभएको थियो ।
किशोरावस्था तथा युवा अवस्थामा देखिने सामाजिक समस्या केन्द्रित भएर गरिएको संवादमा सहभागीहरुले बालविवाहलाई प्रमुख समस्याको रुपमा चर्चा गरेका थिए । बालविवाहका कारण समुदायमा विविध जटिलताको स्थिति देखा परेको भन्दै सरोकारवालाको सक्रियतामा बालविवाह नियन्त्रणमा विशेष योजना बनाउनुपर्ने धारणा व्यक्त भएका थिए ।
बालविवाहकै कारण कानुनी जटिलता, बालविवाह गरी २० वर्षभन्दा कम उमेरमै सन्तान जन्माउँदा जन्मदर्ता गराउन समस्या हुने हेटौंडा उपमहानगरपालिका १५ नम्बर वडा सदस्य कुमारी श्रेष्ठको भनाइ छ । वडा सदस्य श्रेष्ठले वैदेशिक रोजगारीमा बाबु र आमा दुबैजना जाने क्रमले पनि बालविवाह बढेको ठहर गर्दै वडाले आमा र बुबा मध्ये कोही एकजनालाई मात्रै वैदेशिक रोजगारीमा जान अनुमति दिने गरेको उल्लेख गर्नुभयो । बालविवाह नियन्त्रणकै लागि क्रियाशील किशोरकिशोरी सञ्जाललाई वडाले बजेट नै उपलब्ध गराएर सचेतनामूलक कार्यसँगै बालविवाह नियन्त्रणमा अग्रसर गराउने कार्य भइरहेको उहाँ बताउनुहुन्छ ।

बालविवाह गर्दा केटा र केटीबीच परिपक्वताको अभाव, आर्थिक, सामाजिक पक्षमा सवल नहुनु जस्ता कारणले सम्बन्ध बिच्छेदका घटनाहरु उल्लेख्य भइरहेको हेटौंडा उपमहानगरपालिका ३ नम्बर वडा सदस्य बिमला बर्तौलाको भनाइ छ । वडा सदस्य विमला बर्तौलाले विद्यालयमै पुगेर वडाका जनप्रतिनिधिले बालविवाह हुन नदिन सचेतनामूलक कार्य गर्दै आएको, लागूऔषध दूव्र्यसन नियन्त्रणमा पनि काम गर्दै आएको जानकारी दिनुभयो । बालविवाह हुन लागेको भन्ने जानकारीपछि बालविवाह रोक्ने कार्य पनि गरेको वडा सदस्य बर्तौलाले बताउनुभयो ।
कार्यक्रममा १२ नम्बर वडा अध्यक्ष ललित घलानले बालक्लब र विद्यालयका लागि वडाले बजेट छुट्याएर आवश्यक कार्य गर्दै आएको बताउनुभयो । पूर्वाधार विकासमा बढी लगानी गर्नुपर्ने बाध्यताका कारण सामाजिक विकासको काममा कम लगानी भइरहेको वडा अध्यक्ष घलानको भनाइ छ । आगामी दिनमा वडाको तर्फबाट किशोरकिशोरीलाई समेटेर उपयुक्त कार्य गर्ने प्रतिवद्धता वडा अध्यक्ष घलानले व्यक्त गर्नुभयो ।
कार्यक्रममा हिन्दु, बौद्ध, क्रिस्चियन धर्मगुरुहरुले बालविवाहको कर्म नगरेको स्पष्ट पार्नुभयो । बालविवाहलाई उपयुक्त नठानेर अहिले कसैले बालविवाह गराउन खोजे सम्झाई, बुझाई बालविवाह नगर्न, नगराउन प्रेरित गर्ने गरेको धर्मगुरुहरुको भनाइ थियो । कार्यक्रममा पत्रकार सुरेश श्रेष्ठले जनप्रतिनिधि, राजनीतिकर्मी, शिक्षक, सामाजिक अगुवाको अग्रसरतामा अभिभावकलाई सचेत गराउन सके बालविवाह नियन्त्रणमा उल्लेख्य काम गर्न सकिने बताउनुभयो । बालविवाहका घटना उल्लेख्य संख्यामा भइरहँदा एउटा पुस्ताको जीवन नै बर्बाद हुँदै समाज र मुलुककै अवस्थामा संकटको स्थिति आउनेतर्फ पत्रकार श्रेष्ठले सचेत गराउनुभयो ।
कार्यक्रममा सहभागी किशोरी बन्दना थिङले बालविवाह नियन्त्रणमा किशोरकिशोरी अग्रसर हुँदा बालविवाह गर्ने बालबालिकाका अभिभावकबाट डर, धम्की खेप्नु परेको गुनासो गर्नुभयो । बालविवाह नियन्त्रण गर्न वडा अध्यक्ष र वडा सदस्यहरु सक्रिय हुनुपर्ने थिङको भनाइ छ । कार्यक्रममा ग्रामीण महिला सेवा केन्द्रका कार्यक्रम संयोजक दीपक न्यौपानेले सरोकारवालाको साझा बुझाई र सकारात्मक प्रतिवद्धता व्यक्त हुनु उपलब्धीमूलक कार्य भएको बताउनुभयो ।