हेटौंडा: नेकपा एमाले मकवानपुरको ११ औं जिल्ला अधिवेशन कार्यक्रमको तेस्रो दिन आज आइतबार तेस्रो स्थानमा निर्वाचन प्रक्रियाको कार्यसमहरु हुने तयारी गरिएको छ । रोयल प्यालेसमा शुक्रबारबाट सुरु भएको जिल्ला अधिवेशन कार्यक्रम बिरालोले बच्चा सारेझैं शनिबार क्विक ट्वान्टी पार्टी प्यालेस हुँदै आज एमालेको आफ्नै पार्टी कार्यालयमा सारिएको छ ।

एमाले मकवानपुरको नेतृत्व चयन चुनावबाट हुने हो कि सर्वसम्मत गरिने भन्ने बिषय अझै अन्यौल बनेको छ । पार्टी कार्यालयम निर्वाचन समितिले निर्वाचनको तयारी भने थालेको छ । ५ पदाधिकारीसहित जिल्ला सदस्यहरुमा सहमती हुन नसकेको क्लस्टरहरुमा चुनाब गर्ने तयारी गरिएको छ । एमाले मकवानपुरको पार्टी कार्यालयमा नै चुनावको तयारी सुरु गरिएको छ । अहिले मत खसाल्ने बाकस ब्यवस्थापनको काम भइरहेको निर्वाचन समितिले जनाएको छ ।

चुनावको लागि मतपत्र छपाइको काम भइसकेको र मतपत्र तयारी अवस्थामा राखिएको सहायक मतदान तथा मतगणना अधिकृत यदुकुमार भट्टराईले जानकारी दिनुभयो । नेतृत्व चयनकका लागि मतदान भएको अवस्थामा प्रतिनिधिहरुले ४ रंगका मतपत्र ४ वटा बाकसमा खसाल्नु पर्ने भएको छ । रातो मतपत्रमा ५ पदाधिकारी तथा जिल्ला लेखा कमिटिको उम्मेदवारहरुको नामावली रहेको छ । हरियो मतपत्रमा सहमती हुन बाँकी भूगोल तर्फका सदस्यहरुको नामावली रहेको छ । यसैगरी सेतो मतपत्र जनजाती, मुस्लिम, अल्पसंख्यक, दलित सदस्य तथा पेशागत खुल्ला सदस्यका लागि रहेको छ भने पहेँलो मतपत्रमा खुल्ला सदस्य र महिला खुला सदस्यहरुको नामावली रहेको छ ।

भूगोल, मजदुरलगायतका क्लस्टरबाट ४८ जना जिल्ला सदस्यका लागि सर्वसम्मत भइसक्दा ५ पदाधिकारीसहित ७२ सदस्यका लागि चुनावमा मतदान गर्न प्रतिनिधिहरु भने पार्टी कार्यलयको प्राङ्गण बाहिर प्रतिक्षा गरिरहेका छन् । चुनावमा ८०२ प्रतिनिधिले मतदान गर्ने छन् । तर केही प्रतिनिधिहरुले चुनाव नभई सर्वसम्मत नेतृत्व चयन गर्नुपर्ने धारणा ब्यक्त गरिरहँदा केही प्रतिनिधि टिके प्रवृत्तिबाट नेतृत्व चयन हुन नहुने माग गरिरहेका छन् । यद्यपि एमालेका शिर्ष नेताहरु अझैपनी छलफलमा रहेका छन् ।

एमालेका केन्द्रिय सदस्यहरु रामेश्वर राना, कृष्णप्रसाद दाहाल, जुनेली श्रेस्ठ, भारती पाठक, पुर्व मुख्यमन्त्री डोरमणि पौडेल, प्रदेश सदस्य अनन्त पौडेल लगायतका नेता अहिले पनि छलफलमा रहेको बुझिएको छ । उनिहरु जिल्लाको नेतृत्व चयन गर्न चुनाव गर्न नहुने भन्दै नेतृत्व चयन गर्न लागि परेका देखिन्छन् । एमाले बागमती प्रदेश उपसचिव महेश बर्तौलाले समेत नेतृत्व चयनका लागि चुनाव नहुने सम्भावना रहेको बताउनुभएको छ । प्रतिनिधिहरुले पनि चित्तबुझ्दो रुपमा सर्वसम्मत नेतृत्व चयन भए सदस्यहरु पनि सबै सर्वसम्मत रुपमा टुङ्गिने बताइरहेका छन ।