साङ्केतिक तस्बिर goole.com

हेटौंडाः हेटौंडा–१३, शिखरपानीस्थित चुरेशिखर कृषि सहकारी संस्था लिमिटेडको १३ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार बागमती बागमती प्रदेशको सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा सहकारीको साधारणसभा भएको हो ।

साधारणसभाको उद्घाटन गर्दै मन्त्री मोक्तानले सहकारी प्रत्यक्ष जनतासँग जोडिएको संस्था भएकाले सहकारीको विकासमा प्रदेश सरकारले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभएको छ । उहाँले सहकारी ऐनमा संशोधन गर्न सकिने भन्दै त्यसका लागि पहल गर्ने बताउनुभयो ।

प्रदेश सरकारले दुग्ध उत्पादकसहित धेरै किसानलाई प्रत्यक्ष अनुदान र प्रोत्साहन रकम दिइरहेको भन्दै उहाँले जनतालाई धेरै लाभ दिन सरकारले किसानलक्षित कार्यक्रमका लागि सहकारीमार्फत् सुझावको अपेक्षा गरेको जानकारी दिनुभयो । गाउँगाउँमा रहेका कृषि सहकारीहरु उत्पादनमा जोडिएकोमा खुशी व्यक्त गर्दै मन्त्री मोक्तानले उत्पादन बढाउँदै उद्योगसँग जोड्न आग्रह गर्नुभयो ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ का वडा अध्यक्ष महारत्न लामाको विशेष आतिथ्य रहेको साधारणसभा सहकारीका अध्यक्ष राजु दर्लामीको सभाध्यक्षतामा भएको थियो । साधारणसभामा हेटौंडा उपमहानगरपालिका सहकारी शाखाका प्रमुख हिमप्रसाद पौडेल, जडिबुटी सहकारी संघ मकवानपुरका सचिव लीलाकुमार घलान, स्वाबलम्बन बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष दीपेश थिङ, नारायणी संघ हेटौंडाका निवर्तमान अध्यक्ष बद्रीप्रसाद चौलागाई, जनप्रिय प्राविधिक शिक्षालय, हटियाका अध्यक्ष रमेश खतिवडालगायतले मन्तव्य व्यक्त गरेका थिए ।

साधारणसभामा सहकारीले जेष्ठ नागरिक सम्मान, जोडी सम्मान, असल बचतकर्ता, उत्कृष्ट बाल बचत, उत्कृष्ट कृषकहरुलाई नगदसहित सम्मान गरिएको थियो । ३ करोड ३५ लाख ७६ हजार रुपैयाँ बचत र ३ करोड २६ लाख ४९ हजार रुपैयाँ लगानी रहेको सहकारीमा ७ सय ८९ जना शेयर सदस्य रहेको बताइएको छ ।