हेटौंडाः मकवानपुरका शैक्षिक संस्था वरपर सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्ने कार्य रोकिएको छैन । सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन, २०६८ ले सार्वजनिक स्थल नजिक सुर्तीजन्य पदार्थ बिक्री वितरणमा रोक लगाएको छ ।
ऐनको दफा ११ (३) मा कसैले पनि शिक्षण तथा स्वास्थ्य संस्था, बाल कल्याण गृह, शिशु स्याहार केन्द्र, बृद्धाश्रम, अनाथालय र नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिएको सार्वजनिक स्थलबाट कम्तीमा एक सय मिटरभित्रको घर, पसलबाट सूर्तीजन्य पदार्थ बिक्री वितरण गर्न गराउन पाउनेछैन भन्ने व्यवस्था गरिएको छ । ऐनको दफा ११ मा भएको व्यवस्थाविपरित कसैले कुनै काम गरेमा दश हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था ऐनले गरेको भए पनि शैक्षिक संस्था वरपर सुर्तीजन्य पदार्थको बिक्री वितरण निर्वाध भइरहेको छ ।
शैक्षिक संस्था आसपास क्षेत्रमा सुर्तीजन्य पदार्थ बिक्री वितरण नरोकिएको हेटौंडा–२ स्थित सिद्वार्थ माध्यमिक विद्यालयका प्रधानाध्यापक मोहनप्रसाद शर्माले जानकारी दिनुभयो । सिद्धार्थ स्कूलसँगै जोडिएको मकवानपुर बहुमुखी क्याम्पसअगाडि एक होटलमा सुर्तीजन्य पदार्थ खुलेआम बिक्री हुने गरेको शर्माले दावी गर्नुभयो । हेटौंडा उपमहानगरपालिकाभित्र मात्र ७६ वटा सामुदायिक र ४६ वटा निजी विद्यालय रहेका छन् । ती विद्यालय वरपरसमेत सुर्तीजन्य पदार्थ बिक्री वितरण हुँदा विद्यार्थी कुलतमा फस्दै गएको उहाँले बताउनुभयो ।
सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐनकै दफा ११ मा कसैले पनि अठार वर्ष नपुगेका व्यक्तिलाई सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्न वा गर्न लगाउन वा निःशुल्क उपलब्ध गराउन नपाउने व्यवस्था छ । सुर्तीजन्य पदार्थको बिक्रेताले कुनै क्रेताको उमेरको बारेमा यकिन हुन चाहेमा निजसँग आवश्यक प्रमाण माग गर्न सक्नेसमेत ऐनमा लेखिएको छ । ऐनमा फुटकर रुपमा चुरोट बिक्री गर्न नपाउने व्यवस्था गरेपनि कुनै बिक्रेतालाई त्यसलाई पालना गरेका छैनन् । कतिपय बिक्रेताले विद्यालय वा क्याम्पसको पोशाक लगाएका विद्यार्थीलाई नै चुरोट बिक्री गर्ने गरेको समेत पाइएको छ ।
शिक्षण संस्थाको एक सय मिटर वरपर नै खुलेआम सुर्तीजन्य पदार्थ बिक्री वितरण कार्य नरोकिँदा विद्यालयमा अध्ययनरत केही विद्यार्थीले धुमपान गर्ने गरेका छन् । विद्यालयकै पोशाकमा शौचालयमा गएर धुमपान सेवन गर्दै गरेका विद्यार्थी फेला परेको प्रधानाध्यापक शर्माले जानकारी दिनुभयो । धुमपानको लतमा परेका विद्यार्थीले तल्लो कक्षामा अध्ययनरत भाइहरुसँग पैसा मागेर तथा चोरेरसमेत धुमपान गर्ने गरेको उहाँले बताउनुभयो । आफ्ना छोराछोरीले चुरोट खाने गरेको सम्बन्धित अभिभावकलाई जानकारी गराउँदासमेत अभिभावकले बेवास्ता गर्ने गरेको प्रधानाध्यापक शर्माले बताउनुभयो ।
घर परिवारले नै आफ्ना बालबच्चालाई निगरानीमा राख्न नसक्दा धुमपानको कुलतजस्ता विभिन्न विकृत कार्यमा बालबालिका संग्लन हुने गरेको शर्माले दावी गर्नुभयो । ३ वर्षअघि मात्र विद्यालय वरपर सुर्तीजन्य पदार्थ बिक्री वितरण गरेमा कडा कारवाही गरिने भन्दै उपमहानगरपालिका, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले अभियान नै चलाएका थिए । तर, त्यसलाई प्रभावकारीरुपमा अनुमगन नगरिँदा सुर्तीजन्य पदार्थको बिक्री वितरण रोकिएको छैन । नियामक निकायले प्रभावकारी अनुगमन र कारबाही गर्नुका सट्टा बिक्री वितरणमा समेत रोक लगाउन नसकेको शर्माले जानकारी दिनुभयो । देखासिकीका कारण विद्यालय तहकै बालबालिका कुलतमा फसेको दावी गर्नुहुँदै शर्माले सम्बन्धित निकायको ध्यनाकर्षण हुनुपर्ने बताउनुभयो ।
धुमपान तथा सुर्ती सेवन मानव स्वास्थ्यका लागि अत्यन्त हानिकारक हुन्छ । त्यस्ता पदार्थ सेवनले मानव जीवनको आर्थिक, सामाजिक र सांस्कृतिक क्रियाकलापमा समेत नकारात्मक असर पार्दछ । सर्वसाधारण जनताको स्वास्थ्य, सुविधा र आर्थिक हितको अभिवृद्धि गर्न सुर्तीजन्य पदार्थको आयात, उत्पादन, बिक्री, वितरण तथा सेवन गर्ने कार्यलाई न्यूनीकरण, नियन्त्रण तथा नियमन गर्ने सम्बन्धमा गरिएको कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा प्रधानाध्यापक शर्माले जोड दिनुभयो । कानुनी व्यवस्थाबमोजिम शिक्षण संस्था, पुस्तकालय, तालिम तथा स्वास्थ्यसम्बन्धी संस्थाहरुको वरपरसमेत सुर्तीजन्य पदार्थ बिक्री वितरणमा पूर्ण प्रतिबन्ध लगाउन उहाँले माग गर्नुभयो ।