Home मुख्य समाचार रोकिएन शैक्षिक संस्था वरपर सुर्तीजन्य पदार्थको बिक्री

रोकिएन शैक्षिक संस्था वरपर सुर्तीजन्य पदार्थको बिक्री

गुगल तस्बिर

हेटौंडाः मकवानपुरका शैक्षिक संस्था वरपर सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्ने कार्य रोकिएको छैन । सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन, २०६८ ले सार्वजनिक स्थल नजिक सुर्तीजन्य पदार्थ बिक्री वितरणमा रोक लगाएको छ ।

ऐनको दफा ११ (३) मा कसैले पनि शिक्षण तथा स्वास्थ्य संस्था, बाल कल्याण गृह, शिशु स्याहार केन्द्र, बृद्धाश्रम, अनाथालय र नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिएको सार्वजनिक स्थलबाट कम्तीमा एक सय मिटरभित्रको घर, पसलबाट सूर्तीजन्य पदार्थ बिक्री वितरण गर्न गराउन पाउनेछैन भन्ने व्यवस्था गरिएको छ । ऐनको दफा ११ मा भएको व्यवस्थाविपरित कसैले कुनै काम गरेमा दश हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था ऐनले गरेको भए पनि शैक्षिक संस्था वरपर सुर्तीजन्य पदार्थको बिक्री वितरण निर्वाध भइरहेको छ ।

शैक्षिक संस्था आसपास क्षेत्रमा सुर्तीजन्य पदार्थ बिक्री वितरण नरोकिएको हेटौंडा–२ स्थित सिद्वार्थ माध्यमिक विद्यालयका प्रधानाध्यापक मोहनप्रसाद शर्माले जानकारी दिनुभयो । सिद्धार्थ स्कूलसँगै जोडिएको मकवानपुर बहुमुखी क्याम्पसअगाडि एक होटलमा सुर्तीजन्य पदार्थ खुलेआम बिक्री हुने गरेको शर्माले दावी गर्नुभयो । हेटौंडा उपमहानगरपालिकाभित्र मात्र ७६ वटा सामुदायिक र ४६ वटा निजी विद्यालय रहेका छन् । ती विद्यालय वरपरसमेत सुर्तीजन्य पदार्थ बिक्री वितरण हुँदा विद्यार्थी कुलतमा फस्दै गएको उहाँले बताउनुभयो ।

सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐनकै दफा ११ मा कसैले पनि अठार वर्ष नपुगेका व्यक्तिलाई सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्न वा गर्न लगाउन वा निःशुल्क उपलब्ध गराउन नपाउने व्यवस्था छ । सुर्तीजन्य पदार्थको बिक्रेताले कुनै क्रेताको उमेरको बारेमा यकिन हुन चाहेमा निजसँग आवश्यक प्रमाण माग गर्न सक्नेसमेत ऐनमा लेखिएको छ । ऐनमा फुटकर रुपमा चुरोट बिक्री गर्न नपाउने व्यवस्था गरेपनि कुनै बिक्रेतालाई त्यसलाई पालना गरेका छैनन् । कतिपय बिक्रेताले विद्यालय वा क्याम्पसको पोशाक लगाएका विद्यार्थीलाई नै चुरोट बिक्री गर्ने गरेको समेत पाइएको छ ।

शिक्षण संस्थाको एक सय मिटर वरपर नै खुलेआम सुर्तीजन्य पदार्थ बिक्री वितरण कार्य नरोकिँदा विद्यालयमा अध्ययनरत केही विद्यार्थीले धुमपान गर्ने गरेका छन् । विद्यालयकै पोशाकमा शौचालयमा गएर धुमपान सेवन गर्दै गरेका विद्यार्थी फेला परेको प्रधानाध्यापक शर्माले जानकारी दिनुभयो । धुमपानको लतमा परेका विद्यार्थीले तल्लो कक्षामा अध्ययनरत भाइहरुसँग पैसा मागेर तथा चोरेरसमेत धुमपान गर्ने गरेको उहाँले बताउनुभयो । आफ्ना छोराछोरीले चुरोट खाने गरेको सम्बन्धित अभिभावकलाई जानकारी गराउँदासमेत अभिभावकले बेवास्ता गर्ने गरेको प्रधानाध्यापक शर्माले बताउनुभयो ।

घर परिवारले नै आफ्ना बालबच्चालाई निगरानीमा राख्न नसक्दा धुमपानको कुलतजस्ता विभिन्न विकृत कार्यमा बालबालिका संग्लन हुने गरेको शर्माले दावी गर्नुभयो । ३ वर्षअघि मात्र विद्यालय वरपर सुर्तीजन्य पदार्थ बिक्री वितरण गरेमा कडा कारवाही गरिने भन्दै उपमहानगरपालिका, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले अभियान नै चलाएका थिए । तर, त्यसलाई प्रभावकारीरुपमा अनुमगन नगरिँदा सुर्तीजन्य पदार्थको बिक्री वितरण रोकिएको छैन । नियामक निकायले प्रभावकारी अनुगमन र कारबाही गर्नुका सट्टा बिक्री वितरणमा समेत रोक लगाउन नसकेको शर्माले जानकारी दिनुभयो । देखासिकीका कारण विद्यालय तहकै बालबालिका कुलतमा फसेको दावी गर्नुहुँदै शर्माले सम्बन्धित निकायको ध्यनाकर्षण हुनुपर्ने बताउनुभयो ।

धुमपान तथा सुर्ती सेवन मानव स्वास्थ्यका लागि अत्यन्त हानिकारक हुन्छ । त्यस्ता पदार्थ सेवनले मानव जीवनको आर्थिक, सामाजिक र सांस्कृतिक क्रियाकलापमा समेत नकारात्मक असर पार्दछ । सर्वसाधारण जनताको स्वास्थ्य, सुविधा र आर्थिक हितको अभिवृद्धि गर्न सुर्तीजन्य पदार्थको आयात, उत्पादन, बिक्री, वितरण तथा सेवन गर्ने कार्यलाई न्यूनीकरण, नियन्त्रण तथा नियमन गर्ने सम्बन्धमा गरिएको कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा प्रधानाध्यापक शर्माले जोड दिनुभयो । कानुनी व्यवस्थाबमोजिम शिक्षण संस्था, पुस्तकालय, तालिम तथा स्वास्थ्यसम्बन्धी संस्थाहरुको वरपरसमेत सुर्तीजन्य पदार्थ बिक्री वितरणमा पूर्ण प्रतिबन्ध लगाउन उहाँले माग गर्नुभयो ।

Exit mobile version