हेटौंडाः हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१५ बंगेरीको ११ परिवारलाई घर छाउन जस्तापाता उपलब्ध गराइएको छ । उपमहानगरपालिकाको निकै विकट क्षेत्रमा रहेको बस्तीका चेपाङ र तामाङ समुदायको घर छाउनका हेटौंडा उपमहानगरपालिकाले जस्तापाता सहयोग गरेको हो ।
हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले जस्तापाता वितरण गर्नुभएको छ । खरको छाना भएका कारण पानी परेपछि सबै घरभित्र पस्ने समस्या देखेपछि जस्तापाता सहयोग गरिएको मेयर महतले बताउनुभयो । बंगेरीका पञ्च भोम्जन, कुमार बल, सृजना प्रजा, राजकुमार थिङ, प्रीतिमान प्रजा, बसन्ती पाख्रिन, सूर्यबहादुर प्रजा, निर्मल प्रजा, तीर्थराज प्रजा र दोर्जे बललाई घरको छाना छाउनका लागि जस्तापाता सहयोग गरिएको हो ।
यस क्षेत्रमा यसअघि खानेपानीको व्यवस्थापन तथा विद्यालयको स्थापनामा सहयोग गरेको उपमहानगरपालिकाले घर छाउन जस्तापाता सहयोग गरिएको मेयर महतले जानकारी दिनुभयो । पिछडिएको क्षेत्रको पहिलो प्राथमिकतामा पर्ने खानेपानी, सडक, विद्यालयसँगै जस्तापाता सहयोग गरिएको उहाँले बताउनुभयो ।
उपमहानगरपालिका भए पनि खाना, कपडा, पक्की घर, विद्यालय, खानेपानी, विद्युत्, सडकजस्ता अत्यावश्यक सुविधाबाट वञ्चित उक्त बस्तीमा यसअघि मेयर महतले अनुगमन गर्नुभएको थियो । त्यसबेलादेखि हालसम्म उपमहानगरले प्राथमिकताका आधारमा सहयोग गर्दै आएको छ । पढ्नका लागि विद्यालय स्थापना भएपछि अहिले यस क्षेत्रका ४० जना बालबालिका विद्यालय जान थालेको उहाँले बताउनुभयो । बस्तीमा टाढाबाट ल्याएर भए पनि खानेपानीको व्यवस्था गरिएको छ । विद्यालय नहुँदा पहिले पढ्नबाट वञ्चित भएका बालबालिका विद्यालय जना थालेको स्थानीय श्रीजना प्रजाले बताउनुभयो । आफूहरुका लागि विगत एक वर्षदेखि हेटौंडा उपमहानगरपालिकाले अभिभावकको भूमिकामा सहयोग गरेको स्थानीय सूर्यबहादुर प्रजाले बताउनुभयो ।