हेटौंडाः हेटौंडा–१० स्थित सोलिड्यारिटी इन्टरनेशनल एकेडेमीले २९ औं स्थापना दिवस मनाएको छ । विद्यालय प्राङ्गणमा औपचारिक कार्यक्रम गरेर विद्यालयले मंगलबार स्थापना दिवस मनाएको हो ।

विद्यालयका संस्थापक अध्यक्ष ऋषिराम आचार्यको सभाध्यक्षता तथा हेटौंडा उपमहानगर पालिका वडा नम्बर १० का वडा सदस्य ईन्द्र नेपालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । भाडाको घरमा २०४९ साल पुस २० गते स्थापना गरी सञ्चालन गरिएको सोलिड्यारिटी अहिले भौतिक सुविधासम्पन्न विद्यालय बनेको छ ।

कार्यक्रममा प्रमुख अतिथि नेपालले विद्यालयले राम्रो शिक्षा दिइरहेको बताउनु भयो । उहाँले जिल्लाको शैक्षिक केन्द्रको रुपमा रहेको विद्यालयले आगामी दिनमा व्यवहारिक र प्रयोगात्मक शिक्षामा जोड दिन आग्रह गर्नुभएको छ । सबै विद्यालयमा यस्तै व्यवस्थापन हुनसके शिक्षामा फड्को मार्ने उहाँको भनाइ थियो ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन)का केन्द्रीय सदस्य मदन दाहालले शिक्षाको क्षेत्रमा निकै महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै विद्यालयको प्रशंसा गर्नुभयो । विद्यालयले बालबालिकालाई गुणस्तरीय शिक्षासँगै सिर्जनशील, लगनशील, अनुशासित र स्वावलम्बनको पाटोमा समेत जोड दिएको उहाँले बताउनुभयो ।

प्याब्सन मकवानपुरका अध्यक्ष विनोद सुवेदीले विद्यालयलाई नमुना बनाउनका लागि शिक्षकको भूमिका सबैभन्दा बढी महत्वपूर्ण हुने हुँदा शिक्षकहरुले त्यसमा जिम्मेवारीका साथ लाग्नुपर्ने बताउनुभयो । उहाँले शैक्षिक क्षेत्रको उन्नतिबिना नै विकास र समृद्धि प्राप्त हुने भएकाले गुणस्तरीय, प्राविधिक तथा व्यावसायिक शिक्षाका आवश्यकता रहेको बताउनुभयो ।

कार्यक्रममा प्रेस चौतारी मकवानपुरका सचिव रुपक कालिराजले विद्यालयले गरेको प्रगतिको प्रशंसा गर्नुभयो । उहाँले विद्यालयमा जीवनउपयोगी, नैतिक र व्यवहारिक शिक्षा दिन जरुरी रहेको बताउनुभयो ।

६० जना विद्यार्र्थीबाट सुरु भएको विद्यालयमा हाल एक हजार ७ सय विद्यार्थी अध्ययनरत छन् भने हाल ६२ जना शिक्षक रहेका छन् । विद्यालयले २ सय ७० जना विद्यार्थीलाई छात्रवृत्ती प्रदान गरेको जनाएको छ । विभिन्न जिल्लाका अभिभावकविहीन, निम्न आर्थिक अवस्था भएका एक सय १० जना विद्यार्थीलाई आवासीय सविधासहित विद्यालयले पढाइरहेको विद्यालयका संस्थापक अध्यक्ष आचार्यले जानकारी दिनुभयो । स्मार्ट स्कूलको अवधारणाअनुसार विद्यालयमा कम्प्युटर, स्मार्ट बोर्ड, सीसी क्यामेरा, टिभी, प्रोजेक्टरगायतका प्राविधिक उपकरण जडान गरिएको छ विद्यालयका प्रधानाध्यापक रीना आचार्यले बताउनुभयो ।

शिक्षक हनोक तामाङले सञ्चालन गर्नु भएको कार्र्यक्रममा विद्यार्र्थीहरुले नृत्य तथा गायन कला प्रस्तुत गरेका थिए । विद्यालयका सहायक प्रध्यानाध्यापक एसके ज्ञवालीले स्वागत मन्तव्य दिनुभएको कार्यक्रममा विद्यालयको विगत, वर्तमान र आगामी योजनाका विषयमा संस्थापक अध्यक्ष आचार्यले प्रष्ट पार्नु भएको थियो । कार्यक्रममा स्थानीय टोल विकास संस्थाका पदाधिकारी, अभिभावक, विद्यालयका शिक्षक र विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

विद्यालय स्थापना दिवसका अवसरमा निःशुल्क भर्ना अभियानसमेत सञ्चालन गरिएको सहायक प्रध्यानाध्यापक ज्ञवालीले बताउनुभयो । ३० जना विद्यार्थीलाई निःशुल्क भर्ना गरेर आवश्यक शैक्षिक सामग्रीसमेत वितरण गरिएको उहाँले जानकारी दिनुभयो ।