फाइल तस्बिरः हेटौंडा उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालय ।

हेटौंडाः हेटौंडा उपमहानगरपालिकाको १० औं नगरसभा बिहीबार सम्पन्न भएको छ । सभामा उपमेयर मीनाकुमारी लामाले चालु आर्थिक वर्ष २०७८÷०७९ को नीति, कार्यक्रम एवम् बजेट समीक्षासहितको संशोधित बजेट प्रस्तुत गर्नुभएको छ । १० औं नगरसभामा ६ महिनाभित्र शिक्षा क्षेत्रमा भएका गतिविधि तथा कार्यक्रमबारे समेत समीक्षा गरिएको थियो ।

चालु आर्थिक वर्षमा शिक्षालक्षित ५० वटा कार्यक्रमका लागि हेटौंडा उपमहानगरपालिकाले बजेट विनियोजन गरेको थियो । जसअन्तर्गत् शिक्षा क्षेत्रको विकासतर्फ वैकल्पिक सिकाई कार्यक्रम, नगर शिक्षा समितिको बैठक सञ्चालन, स्थानीय पाठ्यक्रम निर्माण, सामुदायिक तथा संस्थागत विद्यालयको प्रधानाध्यापक बैठक र अन्तक्रिया सम्पन्न गरिएको छ ।

स्थानीय विषयको पाठ्यक्रम निर्माण गरी लागू गर्ने कार्यक्रमअनुरुप समिति गठन भई कक्षा १,२ र ३ को पाठ्यक्रमको समीक्षा कार्यक्रम सम्पन्न भएको छ । सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापक तथा इमीससम्बन्धी कार्य गर्ने शिक्षकहरुलाई ३ दिने इमीस कार्यशाला अनलाइन माध्यमबाट २ पटक सम्पन्न भएको छ । अतिरिक्त क्रियाकलापअन्तर्गत् बाल दिवसको अवसरमा निबन्ध लेखन प्रतियोगिता, चित्रकला प्रतियोगिता र वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । स्थायी शिक्षकहरुको शैक्षिक वर्ष २०७६ र २०७७ को कार्यसम्पादन मूल्यांकन कार्य सम्पन्न भएको छ ।

लामो समयसम्म शिक्षण गरेका शिक्षकहरुलाई प्रोत्साहनसहित अवकाश दिने कार्यक्रमअनुरुप शिक्षक स्वर्णिम अवकाश योजना कार्यविधि बनाई सूचना प्रकाशित गरिएको छ । माध्यमिक विद्यालयमा स्मार्ट बोर्ड र प्रोजेक्टर साथै आधारभूत विद्यालयमा एक ल्यापटप कम्प्युटर र प्रिन्टर वितरण गर्ने कार्यक्रम, विद्यालयमा युरोगार्ड जडान कार्यक्रम, अति विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री र झोला वितरण गर्ने कार्यक्रम, सामुदायिक विद्यालयमा नमुना बाल विकास कार्यक्रम, विषयगत (गणित) प्रयोगशाला निर्माण गर्ने कार्यक्रम सञ्चालन गर्न विद्यालयहरुबाट प्रस्तावना माग गरिएको छ । सशर्त अनुदानअन्तर्गतका आईसीटी ल्याब, पुस्तकालयका कार्यक्रमको प्रस्तावना विद्यालयहरुबाट माग गरिएको छ । विद्यार्थी संख्याका आधारमा दरबन्दी मिलान गर्नका लागि अनुगमन समिति निर्माण भई अनुगमन भइरहेको उपमहानगरले जनाएको छ ।

हेटौंडा उपमहानगरपालिकाले चालु आर्थिक वर्षका लागि शिक्षातर्फ झण्डै ६४ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो । उपमहानगरपालिकाको ९ औं नगरसभामा उपमेयर मीनाकुमारी लामाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नुभएको थियो । शिक्षातर्फको सशर्त र आन्तरिक बजेटतर्फका कार्यक्रम सञ्चालन गर्न कूल बजेटको झण्डै २५ प्रतिशत बजेट विनियोजन गरिएको थियो ।