हेटौंडाः गरिबीका कारण मानिसहरु लागूऔषध ओसारपसारमा संग्लन रहेको एसपी सुरेन्द्रबहादुर गुरुङले दावी गर्नुभयो । छोटो समयमा धेरै पैसा कमाउने भएकाले मानिसहरु विभिन्न ठाउँमा लागूऔषध पुर्याउन क्रियाशील हुने गरेका हुन् । शिक्षाको कमी तथा गरिबीका कारण समाजमा सही निर्णय लिन नसक्ने उमेर समूहका व्यक्तिलाई लागूऔषधका गिरोहहरुले प्रयोग गर्दै आएको गुरुङले उल्लेख गर्नुभयो । अहिलेसम्म लागूऔषध उत्पादन तथा ओसारपसार गर्न लगाउने प्रमुख गिरोह भने प्रहरीले पक्राउ गर्न सकेको छैन ।
एसपी गुरुङ भन्नुहुन्छ– ‘लागूऔषध ओसारपासारमा संग्लन व्यक्तिहरुलाई वास्तविक लागूऔषधको गिरोह को हुन् भन्ने कुरा थाहा छैन ।’ सादा पोशाकमा प्रहरी खटाई लागूऔषध पक्राउ र नष्ट गरिएको भए पनि प्रहरी अनुसन्धान टोलीले लागूऔषधको मुख्य गिरोह पक्राउ गर्न नसकेको एसपी गुरुङले दावी गर्नुभयो । गरिबी र शिक्षाको कमीकै कारण लागूऔषध दुव्र्यसनमा फसेकाहरु लागूऔषधको ओसारपसारमा सग्लन पाइएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले चालु आर्थिक वर्ष २०७८-०७९ को हालसम्म विभिन्न लागूऔषधसहित ६९ जनालाई पक्राउ गरेको छ ।
मकवानपुर प्रहरीले धेरैजसो रातोमाटे प्रहरी सुरक्षा चेकपोष्टबाट लागूऔषधमा संग्लान व्यक्तिलाई नियन्त्रणमा लिइएको गुरुङले बताउनुभयो । हालसम्म गाँजा ७ सय ९४ केजी ७ सय ५० ग्राम, खैरो हेरोइन ३१ ग्राम ६ सय ३० मिलिग्राम, नाईट्रोभेट ७ हजार ५ सय २० ट्याब्लेट र ट्रामा ३ सय ६० क्याप्सुल प्रहरीले बरामद गरेको छ । यस्तै, स्टेगन ३५ ट्याब्लेट, डाईजेपाम ३ सय ४९ एम्पुल, फेनार्गन ३ सय ५६ एम्पुल, नुफिन ३ सय ९१, कोरेक्स २ सय ३९ फेला पारेको बताइएको छ । जसअन्तर्गत् ४७ वटा मुद्वा दर्ता भएको एसपी गुरुङले उल्लेख गर्नुभयो ।
यसैगरी जिल्ला प्रहरी कार्यालय मकवानपुरमा गुरुङ आउनुभएसँगै १ महिनामा मात्र २३ जना लागूऔषधसहित पक्राउ परेका छन् । गाँजा १ सय ३३ केजी ६ सय ग्राम, खैरो हेरोइन १४ ग्राम ४ सय ८० मिलि ग्राम र नाईट्रोभेट ३ सय ३१ ट्याब्लेट फेला पारेको गुरुङले बताउनुभयो । ट्रामा ३ सय ६० क्याप्सुल, स्टेगन ३५ ट्याब्लेट, स्पासपेन ६ ट्याब्लेट रहेको छ । यस्तै डाईजेपाम ८ एम्पुल, फेनार्गन ९ एम्पुल, नुफिन १० एम्पुल र कोरेक्स १ सय ९१ फेला परेका हुन् ।
मंसिर ८ गतेदेखि पुस ९ गतेसम्म लागूऔषध कारोबारी २३ जना पक्राउ गर्दा प्रहरी कार्यालयमा १६ वटा मुद्वा दर्ता भएको छ । १ महिनाकै अवधिमा विभिन्न लागूऔषधसहित ४ वटा मोटरसाइकल, एउटा बोलेरो पिकअप गाडी र एउटा भारतीय स्कोर्पियो गाडी बरामद गरिएको हो । आर्थिक वर्ष २०७८-०७९ मा १ सय ५ बिगाह १८ कठ्ठामा लगाइएको गाँजाको ब्याड, ४ कठ्ठाको अफिम खेती तथा १९ बिगाह खेती फँडानी गरी नष्ट गरिएको एसपी गुरुङले जानकारी दिनुभयो । शुक्रबारमात्र ५ सय ग्राम लागूऔषध गाँजा र एउटा स्कोर्पिओ गाडीसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिइएको छ ।